बिहीबार, वैशाख १७, २०८३

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्‍यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

मेरोन्यूज २०८२ असार २९ गते २०:३३

काठमाडौं । विश्वकै ठूलो पावर ब्याट्री निर्माता कम्पनी क्याटल (CATL) ले चोंगकिंगस्थित सेरेस सुपर फ्याक्ट्रीभित्र ‘फ्याक्ट्री–इन–फ्याक्ट्री’ (FiF) मोडेलमार्फत ब्याट्री उत्पादन सुरु गरेको छ। कम्पनीले गत जुन ३० मा CTP2.0 प्रविधियुक्त दुईवटा उच्चस्तरीय ब्याट्री प्याक उत्पादन लाइनहरू सञ्चालनमा ल्याएको घोषणा गर्दै नयाँ उत्पादन मोडेलमार्फत पहिलोपटक उत्पादन बेस स्थापना गरेको हो।

Advertisement
NiccNicc

FiF मोडेलअनुसार गाडी उत्पादन प्लान्टभित्रै मुख्य कम्पोनेन्ट सप्लायर्स समावेश गरिन्छ, जसले २० मिनेटभित्रै उत्पादन लाइनमा समायोजन गर्न सक्ने क्षमता राख्दछ। दैनिक हजारौं कम्पोनेन्टहरू सोही दिनमा आपूर्ति र उत्पादनमा समावेश गर्न सकिने प्रणालीले आपूर्ति शृङ्खला र उत्पादन प्रक्रियामा नयाँ गतिशीलता थपेको छ।

क्याटलका सीइओ डा. रोबिन जेङले सुरु गरिएको उत्पादन लाइनलाई कम्पनीको हालसम्मकै अत्याधुनिक, स्मार्ट र डिजिटल लाइन भनेका छन्। सेरेस र क्याटलबीचको सहकार्य २०२२ को अगस्टमा प्रारम्भ भएको हो, जसअनुसार आगामी पाँच वर्षसम्म आइटो ब्रान्डका सबै गाडीमा क्याटलकै ब्याट्री प्रयोग गरिनेछ।

आइटो सेरेस र हुवेको सहकार्यमा निर्माण हुने ब्रान्ड हो। यद्यपि २०२४ को जुलाईमा सेरेसले आइटोको ट्रेडमार्क र प्याटेन्ट २५ लाख युआनमा हुवेसँग खरिद गरेपछि ब्रान्डको स्वामित्व परिवर्तन भएको हो। हुवे भने अझै सफ्टवेयर तथा हार्डवेयर सप्लायर्सको रूपमा संलग्न छ।

चीनमा २०२५ सम्म जिरो–कार्बन उत्पादन लक्ष्य लिएको सेरेस–क्याटल साझेदारीले सौर्य ऊर्जा परियोजनालाई समेत विस्तार गरेको छ। कम्पनीले हालै ५० MWh क्षमताको सौर्य प्लान्ट निर्माण गरी राष्ट्रिय ग्रिडमा जडान गरिसकेको छ। ऊर्जा र इलेक्ट्रिक सवारी क्षेत्रको समन्वय गर्दै अगाडि बढिरहेको यो साझेदारीले विश्व बजारमा चीनको पकड़ अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया