सोमबार, फागुन १८, २०८२

नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

मेरोन्यूज २०८२ असार ३० गते २१:४६

दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ।

Advertisement
nepal life insurencenepal life insurence

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो।

आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए।

हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ। मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए। उनीहरु साथीहरुसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ। छ जना साथीहरु पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए।

नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो। साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए। त्यसपछि कुशल पनि बेपत्ता भएका थिए।

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो। स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया