शुक्रबार, मंसिर ५, २०८२

घुस प्रकरण : गुप्ताको मन्त्री र रन्जिताको अध्यक्ष पद गुम्दा अधिकारी अझै झण्डा हल्लाउँदै

मेरोन्यूज २०८२ साउन १६ गते १३:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका राजकुमार गुप्तालाई राजिनामा दिन लगाएपनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भने निर्धक्क हिँडिरहेका छन् । दुवै जना एउटा प्रकरण मुछिँदा एउटाले राजिनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गइरहेका छनर भने भूमिसुधार मन्त्री वलराम अधिकारी भने निर्धक्क भएर हिँडिरहेका छन् । घुसको डिल गरेको आरोप लागेका उनका छोरालाई समेत अनुसन्धानको दायरामा ल्याइएको छैन ।

गुप्ताले राजिनामा दिएर अख्तियार धाउन थालेको दुई हप्ता हुँदा पनि भूमिसुधार मन्त्री अधिकारी मन्त्री पदमै छन् । उनलाई प्रधानमन्त्री ओलीले राजिनामा माग्न सकेका छैनन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा समेत उनलाई सहभागी गराइएको थिएन ।

मालपोत प्रमुखको सरुवा प्रकरणमा मुछिएकी सांसद तथा रन्जिता चौधरीको अध्यक्ष पद गुमेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्षले राष्ट्रिय भेलाबाट अध्यक्ष रन्जितालाई हटाइएको हाे । उनलाई हटाएर रेशमका बुबा लालवीर चाैधरीलाई पार्टी अध्यक्ष बनाइएकाे छ । यस कारबाहीविरुद्ध आफू कानुनी उपचारमा जाने रन्जिताले बताएकी छिन् ।

घूस अडिओ प्रकरणमा बयान दिन अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेका गुप्ता र श्रेष्ठले आरोप अस्वीकार गरिरहेका छन् । विभिन्न प्रमाणहरुले उनीहरुको संलग्नतालाई विस्तारै पुष्टि गरिरहेको अख्तियार स्रोतले जनाएको छ । उनीहरुको अडियो रेकर्ड प्रमाणित भैसकेको बताएपनि घुस लिए दिएको कुनै प्रमाण बाहिर नआएकाले अडियो र अन्य प्रमाण जुटाउन अख्तियार लागिरहेको छ । यस्तो अवस्थामा भूमिसुधार मन्त्री भने फूक्का फाल भएर हिँडिरहका छन् ।

एकै प्रकृतिको अडिओ काण्डमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेललाई अख्तियारले बयान लिइसकेको छ । उनलाई मंगलबार र बुधबार र विहिबार तीन दिन बयान लिएको हो । तर, अधिकारी मन्त्री पदमै बहाल रहँदा बयान दिन गइरहेका छैनन् । यसअघि बहालवाल मन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियारमै बोलाएर बयान लिएको थियो । बस्नेतलाई अत्यन्तै गोप्य रुपमा लिएको बयानको समाचार धेरै दिनपछि बाहिर आएको थियो ।

त्यतिबेला बहालवाला तत्कालीन स्वास्थ्यमन्त्री बस्नेतसँग अख्तियारले बयान लिँदा सरकारमाथि नै प्रश्न उठेको थियो । संसदमा झण्डा हल्लाउँदै मन्त्री अख्तियारमा बयान दिन गएको भनेर प्रतिपक्षीले सरकारको चर्को आलोचना गरेका थिए । अधिकारीको ‘हकमा भने पनि त्यहिँ अवस्था नआओस् भनेर अख्तियार सचेत गरिसकेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म अर्को मन्त्री नियुक्ति गर्ने कुनै तयारी गरेका छैनन् ।

पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित लिचीघारीको जग्गा विवादमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पद गुमाएपछि भूमिमन्त्रीको विषयमा सार्वजनिक रुपमा टिका टिप्पणी शुरु भएको थियो । मालपोत प्रमुख रामचन्द्र अधिकारी र भूमि आयोगको अध्यक्ष नियुक्ति प्रकरणमा घूस ‘डिल’ भएको अडिओ सार्वजनिक भएपछि उनको मन्त्री पद गएको थियो ।

गुप्तासँगै पूर्वमन्त्री रञ्जिता पनि लिचीघारी प्रकरणमा अख्तियार पुगेर बयान दिइसकेकी छिन् । पोखरेलले पोखराको एक रिसोर्टमा बसेर वनकुखुरा र मदिरा खाएको तथा ५ लाख रुपैयाँ घूस लिएको अडिओ सार्वजनिक भएको थियो । त्यहिँ अडिओका आधारमा बयान दिन पोखरेल अख्तियार पुगेका हुन् । विचौलियाहरुले सचिवले पैसा पनि लिएको रिसोर्टमा पनि बसेको तर काम नगरेको उजुरी दिएका छन् ।

उक्त अडिओमा भूमिमन्त्री अधिकारीले ७० लाख घुस लिएको दाबी गरिएको छ । मन्त्री अधिकारी छोरा मनोजलाई घूस बुझाएको अडिओ समेत अख्तियारमा पुगेको छ । बिचौलिया सुजन लामाले मन्त्रीका आफ्न्तहरूको बैंक खातामा ‘घूस’ रकम हालेको अख्तियार स्रोतको दाबी छ । अडियोमा बिचौलिया लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्थामन्त्री अधिकारी, सचिव पोखरेललगायतले लिएको घूस, मन्त्री र सचिवको पोखरा भ्रमण व्यवस्थापन र अन्य गरेर डेढ करोड खर्च भएको भनेका छन् । मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत भूमि व्यवस्थामन्त्री अधिकारीले जेब्राको झोलामा पैसा बुझेको लामाको भनाइ अडियोमा सुनिन्छ ।

‘रामचन्द्रलाई जेब्रा झोलामा ३२ लाख रुपैयाँ दिएको हो, नोट नम्बर सबै टिपेर । उसले लगेर बुझायो । मैले ट्रस्ट मनोजलाई गर्ने हो । मनोज साथी हो, मनोजले पुष्टि ग¥यो, हो भन्यो । रामचन्द्रले बुझाएकै हो भन्ने थाहा छ किनकि म आफैं बाइकमा थिएँ । उसलाई भित्र पठाएँ, म बाहिर थिएँ । ऊ मन्त्री क्वार्टरबाट खाली आयो । उसले मन्त्री क्वार्टरको दुलोमा लुकाएन होला,’ लामाले अडियोमा भनेको सुनिन्छ ।

न्युजिल्यान्डमा बस्ने मनोज हाल नेपालमा नै रहेको र घूसको ‘सेटिङ’ मा संलग्न भएको आरोप अडियोमा लगाइएको छ । बुबा मन्त्री बनेपछि उनी नेपाल आएको भनिएको छ । प्रकाश दाहाल, आर्यन शर्मालगायतका बिचौलिया समूहले मन्त्री अधिकारी र उनका छोरा मनोज पोखरा पुगेको बेला प्रभावमा पारेर पैसाको चलखेल गरी मालपोत कार्यालय प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा गरेको अडियोमा भनिएको छ । रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो । अडियोमा बिचौलिया लामाले मन्त्री अधिकारीसँग भेट भएको दाबी गरेका छन् । ‘हिजो भूमिमन्त्रीसँग भेटघाट भएको थियो मेरो । तपाईं किन पहिल्यै नआएको ? तपाईंको नाममात्रै सुनेको हो मैले सुजन भाइ, तपाईं त मेरा सबै भाइहरूसँग नजिक, तपाईं त मेरो परिवार जस्तै रहेछ, तपाईं पहिला किन मसँग भेट्न आउनुभएन ? तपाईंले खेम पुन कि खेम पुन भनी अडान लिएको भए, यै कुरा पाँच दिन अगाडि भनेको भए म खेम पुनलाई गरिदिन्थें भनेर मन्त्रीले अनिल मरासिनीका अगाडि भन्नुभयो मलाई,’ अडियोमा लामाको भनाई स्पष्ट सुनिएको छ ।

पोखराको लिचीघारी जग्गा प्रकरणमा बिचौलिया बनेका एमालेका नेता सुजन लामाको सदस्यता नवीकरण नगर्ने एमाले कास्कीले निर्णय गरेकोे छ । तर जग्गा भू-माफियालाई दिलाउन घुस लिएको आरोप लागेका भूमिमन्त्री अधिकारी भने अझै झण्डा हल्लाउँदै हिँडेका छन् ।

प्रतिक्रिया