रु दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

बनियानी (झापा)। झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो ।
विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिए। “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”
कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिनुभयो । गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उनले बताए ।
विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उनले बताए। दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उहाँले बताउनुभयो । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।
निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया