नेवार समुदायले चथा पर्व मनाउँदै

भादगाउँ (भक्तपुर), १० भदौः नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भोलि भाद्र ११ गते भाद्र शुक्ल चतुर्थी भए पनि १० गते साँझ नै चतुर्थी पर्न आएका कारण चथा पर्व आजै मनाउन लागिएको हो ।
नेवाः संस्कृतिमा तिथि र मिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भएकाले चथा पर्व आजै मनाउन लागेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताउनुभयो । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्यहरू बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस् भन्ने कामनासहित पूजा गर्दछन् ।
भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । यस दिन गणेश र चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ । चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पातजस्तो) मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीउ, नासपाती, केरा, स्याउ, अनार, अम्बा, हाडेओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला, बदामलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ ।
यसरी विधिवत रूपमा पूजा सकेपछि परिवारका सबै सदस्यले प्रसादका रूपमा गणेश र चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी खाने चलन छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुबो, लड्डु र मुला चढाउँदा गणेश खुसी भई जीवनमा चिताएको मनोकामना पूरा हुने जनविश्वास छ । चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने दुई परम्परा छज्ञ । एकथरि समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन ।
अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घर भित्र पस्ने चलन छ । यस दिन राती चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसको राम्रो पक्ष काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीको टाउको मुख भएको भन्दै अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन ।
गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले चन्द्रमाको बेइज्जत भयो । चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुग्नुभयो । त्यसपछि चन्द्रमा महादेवको शरणमा गएर भक्तिभाव गरी महादेवको सहयोगले चन्द्रमाले गणेशलाई दुबो, लड्डु र मुला चढाई क्षमायाचना गर्न लगाए ।
चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिनुभयो । साथै गणेशले चतुर्थीको राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ । गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दसैँ भित्र्याउने चाडको रूपमा समेत लिने गरेका छन् ।
दसैँको प्रारम्भ पर्वका रूपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रोसँग मनाए दसैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । बेलुका घरपरिवारका सबै सदस्य लाइन बसेर भोज खाने चलन छ । आजकै दिन भक्तपुरका किसानले आआफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन छ । आजकै दिन इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ्गेवनमा विधिपूर्वक पूजा गरेपछि बलि दिने बोकालाई छाड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।















जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
तीन महिनाका लागि एन्फा निलम्वन
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
प्रतिक्रिया