जापानका पूर्व प्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन

जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको जापानी अधिकारीहरूले जनाएका छन्। दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चात्ताप’ व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिएका थिए।
सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत जानकारी दिँदै लेखे, ‘जापानी राजनीतिको पिता मुरयामा तोमिचीको आज बिहान ११ः २८ बजे ओइटा सिटीस्थित अस्पतालमा १०१ वर्षको उमेरमा निधन भएको छ।’
उनको गृहनगर ओइटाका सोसल डेमोक्रेटिक पार्टीका महासचिव हिरोयुकी टाकानोले मुरयामाको बुढ्यौलीका कारण निधन भएको पुष्टि गरे।
‘जापानले आफ्नो औपनिवेशिक शासन र आक्रामकताका माध्यमबाट धेरै देशका मानिसहरूलाई, विशेष गरी एसियाली मुलुकका नागरिकहरूलाई, ठुलो क्षति र पीडा पुर्यायो’, पूर्वप्रधानमन्त्री मुरयामाले सन् १९९५ मा जापानको आत्मसमर्पणको ५० औँ वार्षिकोत्सवका अवसरमा जारी गरिएको प्रसिद्ध वक्तव्यमा भनेका थिए, ‘भविष्यमा यस्ता गल्तीहरू दोहोरिन नदिनका लागि, म गहिरो नम्रता र पश्चातापका साथ इतिहासका यी अकाट्य सत्यहरूलाई सम्मान गर्दछु र आफ्नो हार्दिक माफी प्रकट गर्दछु।’
यो वक्तव्य जापानले दोस्रो विश्वयुद्धमा गरेका अपराधबारे पछिल्ला वर्षहरूमा माफी माग्ने क्रममा अपनाइने एउटा स्थायी मापदण्ड बन्यो। त्यसपछि आएका प्रधानमन्त्रीहरूले पनि युद्धका ६० औँ र ७० औँ वार्षिकोत्सवहरूमा ‘गहिरो पश्चात्ताप’ र ‘हार्दिक माफी’ जस्ता शब्दहरू प्रयोग गर्दै मुरयामाको भावना पुनः दोहोर्याएका थिए।
घना आँखीभौँका कारण पनि परिचित मुरयामा जापानको युद्धपछिको प्रमुख राजनीतिक शक्ति लिबरल डेमोक्रेटिक पार्टीसमेत समावेश भएको गठबन्धन सरकारको नेतृत्व गर्न सफल भएका थिए।
उनी १९९४ देखि १९९६ सम्म प्रधानमन्त्री भए। उनको कार्यकाल जापानका लागि अत्यन्त चुनौतीपूर्ण रह्यो। सन् १९९५ मा पश्चिमी जापानमा विनाशकारी भूकम्प आयो र त्यही वर्ष टोकियोको सबवेमा सारिन ग्यास आक्रमण भयो, जसमा दर्जनौँ नागरिकको मृत्यु र करिब पाँच हजार ८०० जना घाइते भएका थिए।
मुरयामाले आफ्नो जीवनको आरम्भिक चरणमा पनि जापानको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राखेका थिए। सन् १९४४ मा विश्वविद्यालयमा अध्ययनरत रहँदै उनी जापानी शाही सेनामा भर्ती भएका थिए। सन् २०१५ मा जापानको सार्वजनिक प्रसारक एनएचकेसँगको अन्तर्वार्तामा उनले सेनामा बिताएको समयबारे स्मरण गर्दै भनेका थिए, ‘सेना भनेको डरलाग्दो कुरा थियो। त्यहाँ विद्रोह वा तर्क गर्न पूर्ण रूपमा निषेध गरिएको थियो।’
उनले युद्धको अन्त्यतिरको कठोर अवस्थाको पनि सम्झना गरे, ‘त्यो समयसम्म खाना निकै अभावमा थियो, हतियारहरू पनि समाप्तप्रायः भइसकेका थिए। हामीसँग बाँसबाट बनेका हतियार मात्र बाँकी थिए। यस्तो अवस्थामा हामी कसरी युद्ध गर्न सक्थ्यौँ भनेर सोच्दा अहिले पनि डर लाग्छ।’
जापानको राजनीतिक इतिहासमा तोमिची मुरयामा एक यस्ता नेता रहे जसले नम्रता, आत्मआलोचना र मानवताको पक्षमा आफ्नो दृढता देखाएका थिए। उनको निधनले जापानी राजनीतिको एउटा युगको अन्त्य भएको रूपमा लिइएको छ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया