माटोका भाँडा बनाएर आत्मनिर्भर’

सुनसरी– इटहरी उपमहानगरपालिका– ६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बनेका छन् । उनले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आएका छन् ।
पछिल्लो समय गाउँघरदेखि सहरबजारसम्म माटोका भाँडाकुँडाको प्रयोग घट्दै गए पनि यो पुर्ख्यौली पेसा भएकाले पण्डितले यसलाई मुख्य आम्दानीको स्रोत बनाई निरन्तरता दिइरहेको बताए । उनले भने, ‘हामी सबै परिवार यही माटोको भाँडाकुँडा बनाउँछौँ । हाम्रा जिजुबाजेले पनि यही काम गर्दै आएका थिए । हामीले यसैलाई निरन्तरता दिएका हौँ । हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत यही हो र यसबाटै घर खर्च चलाउँदै आएका छौँ ।’
पण्डितको इनरुवामा माटोको भाँडा बनाउने आरन छ । त्यहाँ बनाइएका भाँडाकुँडा इटहरीमा ल्याएर बिक्री गर्ने गर्छन् । व्यापारी आरनमै पुगेर पनि माटोका भाँडाकुँडा खरिद गर्ने गरेको उनले बताए । जस्तो पायो त्यस्तो माटोले भाँडा बन्दैन । नजिकै राम्रो माटो पाउन गाह्रो छ । पहिले विराटनगर, बर्जुताल क्षेत्रबाट माटो ल्याइन्थ्यो भने अहिले सुनसरी र मोरङका विभिन्न ठाउँमा गएर माटो खरिद गरेर ल्याउने गरेको पण्डितले बताए ।
एक ट्रयाक्टर माटोको मूल्य १२ हजारदेखि १८ हजार रुपैयाँसम्म पर्छ । एक ट्रयाक्टर माटोले करिब एक लाख ५० हजार मूल्यबराबरका भाँडाकुँडा बनाउन सकिन्छ । सबै खर्च कटाएर पनि मासिक एक लाख बढी आम्दानी हुने गरेको उनले बताए ।हाल बजारमा प्लास्टिकका सामानको प्रयोग बढे पनि माटोका भाँडाकुँडाको माग अझै पनि उच्च छ । व्यापारीले कारखानामै आएर सामान खरिद गर्ने र पसलमार्फत पनि उति नै बिक्री हुने गरेको पण्डितले बताए । झापा, मोरङ, पाँचथर, इलाम, खाँदबारी, फिदिम, धनकुटा र भोजपुरसम्मका ग्राहकले सामान माग गर्ने गरेका पण्डितको भनाइ छ ।
पण्डितले हाल एक सयभन्दा बढी प्रकारका माटोका सामान बनाउने गर्छन् । यसमा रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुत्रुके, गिलासलगायत सामग्री छन् ।
पण्डितका अनुसार हाल पसलमा दुई हजारदेखि आठ हजारसम्मका सामान बिक्री हुने गरेको छ । तन्दुरी रोटी बनाउने भाँडा पाँच हजारदेखि आठ हजार, रक्सी पार्ने पैनी ६ सयदेखि दुई हजार, गमला ३० रुपैयाँदेखि आठ सय, दियो दुईदेखि ३० रुपैयाँ र विभिन्न साना सामान दर्जनका हिसाबले बिक्री हुने गरेको उनको भनाइ छ ।
पण्डितले भने, ‘अहिले छठमा बिक्री बढेको छ । अरु बेला एक लाख बढी आम्दानी हुन्छ भने चाडपर्व सुरु भएसँगै मासिक एक लाख ७० हजारदेखि एक लाख ८० हजारसम्म कमाइ हुन्छ ।’
रामधुनी नगरपालिका– १ झुम्काका व्यापारी नवराज शाहले माटोका भाँडा बनाउने परम्परा घट्दै गएको र यसको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए । उनले भने, ‘माटोका भाँडा जन्मदेखि मृत्युसम्म आवश्यक पर्छ । मैले चार वर्षदेखि यो व्यापार थालेको छु । अहिले छठ पूजा सुरु भएकाले दियो र कलशको माग अत्यधिक छ । मैले इनरुवा, विराटनगर र भारतबाट सामान खरिद गरी बिक्री गर्दा मासिक ४० हजारदेखि ५० हजारसम्म आम्दानी हुन्छ ।’
अहिले पण्डित र शाहजस्ता धेरै कुम्हारहरूले पुर्ख्यौली र परम्परागत पेसालाई संरक्षण गर्दै आधुनिक बजारसँग जोडेर आम्दानी र पेसाको निरन्तरता सुनिश्चित गरिरहेका छन् ।
















कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया