खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल

बनेपा (काभ्रे)। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर)बाट सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइकार्यको औपचारिक शुभारम्भ गरेका छन् । काभ्रेपलाञ्चोकको बनेपास्थित श्रीखण्डपुरमा रहेको सुरक्षण मुद्रण केन्द्रमा पुगेर उनले प्रिन्टिङ प्रेस लाइसेन्स छपाइको आज शुभारम्भ गरेका हुन् ।
लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र छपाइकार्य स्वदेशमै प्रारम्भ हुनु राष्ट्रिय आत्मनिर्भरताका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै उनले यस कार्यले आमसेवाग्राहीले भोगेका सास्तीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरे । मन्त्री खरेलले भने, “विभिन्न कानुनी र प्राविधिक जटिलताका बाबजुद संवेदनशील कागजातका रूपमा रहेको लाइसेन्स छपाइ स्वदेशमै सुरु गर्नु सरकारको ठूलो सफलता हो ।
यसले राष्ट्रिय तथ्याङ्कको सुरक्षामात्र गर्दैन, छपाइका नाममा बाहिरिने अर्बौँको विदेशी मुद्रासमेत बचत गर्नेछ ।” सञ्चारमन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रबाट धुलो टकटक्याएर लाइसेन्स छपाइ सुरु गरिएको बताउँदै भने, “वर्षौँदेखि धुलाम्मे अवस्थामा थन्किएका मेसिन र उपकरणको धुलो टकटक्याएर छपाइ सुरु गरिएको छ । तीन वर्षदेखि मेसिन उपयोगविहीन थिए । मेसिन र पार्टपूर्जा सबै धुलाम्मे भएका थिए ।
ठाउँ नै खण्डहरजस्तो भएको थियो ।” मन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइको काम सुरु गरिएको उल्लेख गरे । उनका अनुसार २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था रहेको र चिट कागजमा मात्र सीमित रहेको अवस्यामा लाइसेन्स छपाइ सुरु गरेर जनतालाई सुशासनको प्रत्याभूति दिने सरकारको उद्देश्य रहेको बताए ।
सो अवसरमा सञ्चार सचिव एवं सुरक्षण मुद्रण केन्द्रका अध्यक्ष राधिका अर्यालले आजको दिन विशेष रहेको बताउँदै ‘हजार माइलको यात्रा पहिलो पाइलाबाटै सुरु हुने’ र सोको शुभारम्भ आज सवारीचालक अनुमतिपत्र छपाइबाट सुरु गरिएको बताए । केन्द्र ऐनले दिएको म्यान्डेटअनुसार काम गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै सचिव अर्यालले क्रमशः सबै प्रकारका सुरक्षण मुद्रणका सामग्रीहरू स्वदेशमै छपाइ गर्ने दिशामा अघि बढ्न कार्यकारी निर्देशकलाई निर्देशन दिए।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले केन्द्रबाट लाइसेन्स छपाइ सुरु भएकामा अत्यन्तै उत्साहित रहेको भन्दै यसको दिगोपनाका लागि नगरपालिकाकातर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गरे । उनले सरकारको पहलमा आफ्नै प्रेसबाट लाइसेन्छ पछाइ सुरु गरेर राज्यको सम्पत्तिको सदुपयोग भएको उल्लेख गरे।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले केन्द्रमा जडित अत्याधुनिक मेसिनरीले सवारी चालक अनुमतिपत्रमात्र नभइ नागरिकता, अन्तःशुल्क स्टिकर, भिसा स्टिकर, लालपूर्जा, हुलाक टिकट र अन्य संवेदनशील सुरक्षण कागजात छाप्न सक्षम रहेको जानकारी दिए ।
उनले पहिलो चरणमा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच भएको समझदारीपत्र (एमओयु) बमोजिम केन्द्रले १२ लाख थान स्मार्ट लाइसेन्सको छपाइ आगामी छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताए । निर्देशक ढुङ्गानाले सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ ले दिएको म्यान्डेटअनुसार केन्द्रलाई आत्मनिर्भर बनाउँदै राष्ट्रिय आवश्यकता पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरे । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म करिब रु तीन अर्ब लगानी भइसकेको जनाइएको छ ।
यस छपाइकार्यको शुभारम्भसँगै सवारी चालक अनुमतिपत्रको पर्खाइमा रहेका लाखौँ सेवाग्राही लाभान्वित हुनेछन् भने सार्वजनिक सेवा प्रवाहमा पनि उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । यातायात व्यवस्था विभागका निमित्त महानिर्देशक नरहरि तिवारीले लाइसेन्स छपाइ सुरुसँगै सेवाग्राहीले राहत पाउने बताए। उनका अनुसार अहिले करिब ३० लाख कार्ड राजस्व लिएर पनि उपभोक्तालाई दिन सकिएको छैन ।
केन्द्रका अनुसार नयाँ लाइसेन्समा अघिल्लो संस्करणको जस्तो ‘चिप’ भने नहुने भए पनि यसमा उच्चस्तरको सुरक्षा प्रणाली हुने भएको छ । केन्द्रले छ महिनाभित्र करिब १२ लाख नयाँ लाइसेन्स छाप्ने सहमति गरेको छ । केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले नयाँ कार्डमा ‘क्यूआर कोड’ हुने र त्यसमा छ तहसम्म सुरक्षा प्रविधि प्रयोग हुने बताइएको छ ।
उनले भने, “नयाँ कार्डमा ३४ प्रकारका सुरक्षा विशेषता रहनेछन्, जसमा केही दृश्य र केही अदृश्य रहनेछन् । ट्राफिक प्रहरीले अफलाइनमै क्यूआर स्क्यान गरेर जाँच गर्न सक्नेछ ।” ढुङ्गानाका अनुसार यो कार्ड ‘स्मार्ट’ हुने भए पनि अघिल्ला चिपयुक्त कार्डभन्दा अझ परिष्कृत सुरक्षा प्रविधि भएको हुनेछ । गत जेठ महिनामा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच छाप्न बाँकी २८ लाख हाराहारी लाइसेन्स छाप्ने सम्बन्धमा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको थियो ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया