शुक्रबार, पुष ११, २०८२

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

मेरोन्यूज २०८२ कार्तिक २३ गते ७:४८

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पीएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्वस मनाउँदैछ ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको पीएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए । नेपाल सरकारको आर्थिक वर्ष २०७८–७९ को बजेटमा नेपाल टेलिभिजनको अङ्ग्रेजी च्यानलका रूपमा ‘एनटिभी वर्ल्ड’ सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो । यो च्यानलले अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्री समावेश गर्नेछ ।विश्वमा सन् १९२० को दशकदेखि सार्वजनिक सेवा प्रसारण (पीएसबी) को अभ्यास आरम्भ भए पनि नेपालमा यसको परिकल्पना प्रजातन्त्रको पुनःस्थापनापछि भएको हो । विज्ञहरू सम्मिलित विभिन्न कार्यदल र सञ्चारसम्बन्धी आयोगहरूको सुझाव एवं सिफारिससमेतका आधारमा सङ्घीय संसदबाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ पारित भएको थियो ।

राष्ट्रपति पौडेलबाट २०८१ असोज २२ गते विधेयक प्रमाणीकरण भएको थियो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेबाट सो कानून कार्यान्वयनमा आएको हो ।यो ऐन कार्यान्वयनमा आएसँगै रेडियो प्रसार सेवा विकास समिति गठन आदेश, २०४१ अन्तर्गत गठित रेडियो नेपाल र सञ्चार संस्थान ऐन, २०२८ अन्तर्गत स्थापित नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थियो । ऐन कार्यान्वयनका क्रममा लोकसेवा आयोगका अध्यक्ष रहेको सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते पीएसबी नेपालको पहिलो नेतृत्वकर्ताका रूपमा डा. विष्ट कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । (रासस)

प्रतिक्रिया