बुधबार, मंसिर ३, २०८२

प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

मेरोन्यूज २०८२ मंसिर २ गते ९:३८

बरहथवा (सर्लाही)। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि थप पाँच हजार ८१७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज १० गतेबाट नयाँ दर्ता सुरु भएको थियो । नामावली सङ्कलन अभियानमा पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी शिवनारायण साहले जानकारी दिए । सुरुदेखि अन्तिमसम्म नै मतदाता नामावलीमा नाम लेखाउनेको उत्साहपूर्ण सहभागिता देखिएको उनको भनाइ थियो ।

कार्यालयको तथ्या¬ङ्कानुसार यहाँ तीन हजार ३९० पुरुष र दुई हजार ४२७ महिला मतदाता थपिएका हुन । आफ्नो विवरण सच्याउनसमेत एक हजार ३१७ जनाको उजुरी परेको निर्वाचन अधिकारी साहले जानकारी दिनुभयो । उक्त उजुरीमाथि पनि क्रमैसँग कारबाही भइरहेको उहाँले बताउनुभयो । जिल्लाको यस तथ्याङ्क केही थप हुने उहाँले बताउनुभयो । हालसम्म एकिन भइनसकेको भए पनि राष्ट्रिय परिचयपत्रको विवरणबाट सोझै मतदाता नामावली दर्ता गर्नका लागि पनि निवेदन परेको निर्वाचन कार्यालयका सूचना अधिकारी अरविन्दकुमार झाको भनाइ छ । राष्ट्रिय परिचयपत्रबाट प्राप्त निवेदन अबको केही दिनपछि स्वीकृत गरिने उहाँले बताउनुभयो । मतदाता नामावलीमा दर्ता भएकामध्ये ५८.२८ प्रतिशत पुरुष र ४१.७२ प्रतिशत महिला छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरुप आयोगले मतदाता नामावली सङ्कलन र विवरण अद्यावधिक गरेको हो । फागुन २१ गतेसम्म १८ वर्ष पूरा हुने तथा हाल १६ वर्ष पूरा भएर नागरिकता बनाएका नेपाली नागरिकले मतदाता नामावलीमा नाम सङ्कलन गराउन आयोगले आह्वान गरेको थियो । विवरण अद्यावधिकअन्तर्गत त्रुटि सच्याउने, ठाउँसारी गर्ने तथा दोहोरो नामावली हटाउन धेरै निवेदन परेको निर्वाचन कार्यालयले जनाएको छ । आफँैले विवरण भरेर समय लिएर आउने सेवाग्राहीले दुई मिनेटदेखि बढीमा ३० मिनेटसम्ममा सेवा पाएका निर्वाचन अधिकारी साहको भनाइ छ । धेरै भीड भएको समयमा काम गर्ने कर्मचारी थोरै हुँदा सेवा प्रवाहमा केही सामान्य कठिनाइ रहे पनि सहभागी सबैले सेवा पाएका कार्यालय प्रमुख साहले दाबी गर्नुभयो । कार्यालयसम्म आउन नसक्नेहरूले सेवा लिन नपाएको गुनासो गरेको भए पनि कार्यालयसम्म पुगेका कसैले त्यसै फर्कनु नपरेको उहाँको भनाइ छ । तर समय अभाव र अपायक परेका कारण जिल्लाका कुनाकन्दरामा रहेका नागरिकले सेवा दिन नपाएको गुनासो गरेका छन् । जिल्लाको चुरेक्षेत्रस्थित हरिवन नगरपालिका–१ बिलन्दीकी बुद्धिमाया तामाङले आफूले नाम दर्ता गराउन नपाएको गुनासो गर्नुभयो । आफूजस्ता वयोवृद्ध नागरिकका लागि सरकारले घरमै पुगेर मतदाता नामावली सङ्कलनको सुविधा दिए आफूहरू पनि लावान्वित हुने उहाँको अपेक्षा छ । उमेर ढल्दै गएकाले यस जन्ममा आफ्नो मतदान गर्न नपाउने हो कि भन्ने चिन्ता रहेको उहाँको भनाइ थियो । हाल पाँच हजार ८१७ जना नयाँ मतदाता थपिएसँगै जिल्लामा चार लाख ९५ हजार ८२१ जना मतदाता पुगेका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया