सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा (बाँके)। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचविबखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि परिवारलाई जानकारी नदिइ विवाह गर्न भारत जाने युवती मानव बेचविबखनको जोखिममा पर्ने सम्भावना बढेको हो ।
भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको जोखिममा रहेको आशङ्कामा चार दिनअघि रोकेर परामर्श गर्दा यस्तो वास्तविकता खुलेको हो ।
शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा प्रेम सम्बन्ध गाँसिएकै आधारमा यी दुई युवती भारतीय व्यक्तिसँग विवाह गर्न राजी भई भागेर सिमला जाने क्रममा उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये दाङकी एक युवतीको उमेर १५ वर्षमात्र छ भने अर्घाखाँचीकी युवतीको उमेर २२ वर्ष रहेको उहाँले जानकारी दिए ।
संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट कुराकानी भएकै भरमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न भन्दै त्यसतर्फ जाने युवतीको सङ्ख्या बढ्दै जानुले बेचबिखनको जोखिमलाई झन बढाएको बताए । “सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा अभिभावकलाई थाहै नदिइ भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँले जोखिम निम्त्याउने काम हो”, उनले भने ।
केन्द्रको पहलमा दाङकी युवतीलाई अभिभावकसँगको सम्पर्कपछि पारिवारिक पुनर्मिलन गराइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग नेपाली युवतीलाई विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताए ।
“भारतीय नागरिकसँग विवाह गरेकी महिलामार्फत नेपालका चिनेजानेका युवतीसँग सामाजिक सञ्जालमा जोडिने गरेको पाइएको छ”, पुरीले भन्नुभयो, “नेपाली युवती विवाहका लागि राजी भएर भारत पुगेमा समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ पाउने भएकाले यो समस्या बढ्दै गएको हो ।”
आर्थिक लाभको लोभमा आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति चिन्ताजनक रहेको उनको भनाइ छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा घरबाट भागेर भारत पुग्ने महिला उच्च बेचबिखनको जोखिममा रहेकाले सबै यसतर्फ सचेत हुनुपर्ने बताए। उनले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको समन्वयले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गरे ।
प्रहरी निरीक्षक मल्लका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन् । शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले निम्त्याएको यो जोखिमले सीमा नाकामा कडाइ र सचेतनाका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने खाँचो औँल्याए ।
आफूहरूले भारतीय सहरमा बेचिएका र अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी र गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको उहाँले बताउनुभयो । नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना गृहसँगै माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध क्रियाशील रहँदै आएका छन् ।
शान्ति पुनःस्थापना केन्द्रले मात्रै गत आवमा ३९९ जनाको उद्धार गरेको थियो । केन्द्रका जिल्ला कार्यक्रम संयोजक चँदाराले गत आवमा ३०३ जनालाई सिधैँ अभिभावकको जिम्मा लगाइएको जनाउँदै ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पु¥याइएको बताए । शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।










आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रतिक्रिया