पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेका छन् ।
जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।
सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताए । “मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ”, उनले भने । प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने उनको भनाइ थियो ।
मधेसका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले उल्लेख गरे ।
प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा सुधारका विषयमा संसद् सशक्त हुनुपर्ने विचार व्यक्त गरे ।
सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । “सभामुखको कुर्सी राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि हुन्छ, संविधान, कानून र संसदीय नियमावलीको पूर्ण पालना गराउँदै सभालाई जनउत्तरदायी बनाउने मेरो दायित्व रहनेछ”, उनले भने ।
सभामा अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिलाई संस्थागत गर्न आफू दृढ रहेको उल्लेख गर्दै सांसदहरूलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए । समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमा गहिरो छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाइने उनको भनाइ छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया