म्याग्दीका किसान माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले बढीभन्दा मूल्य लिनका लागि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका छन् । देशका धेरै ठाउँका बगैँचा रित्तिएपछि उनीहरुले सुन्तला टिप्न थालेका हुन् ।
दोसल्लेका किसानले विगतको तुलनामा यसपालि राम्रो मूल्य पाएका छन् । मंसिर–पुसमा प्रतिक्रेट (२० किलो) एक हजार ७०० मा बिक्री हुने गरेको थियो । यसपालि प्रतिक्रेट दुई हजार ५०० मूल्यमा बिक्री भइरहेको स्थानीय विकास श्रेष्ठले बताए ।
“किसानले सस्तोमा सुन्तला बेच्नुपर्ने अवस्था हटाउन सबै मिलेर मूल्य निर्धारण गरेका हौँ,” उनले भने, “अन्यत्रको सुन्तला सकिएकाले व्यापारीले प्रतिक्रेट तीन हजार २०० सम्म मूल्य तिर्न तयार छन् ।”
४२ घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गत वर्ष सुन्तलाबाट एक करोड ६० लाख रुपैयाँ भित्रिएको थियो । यसपालि दाना कम लागे पनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा उत्पादन हुने अनुमान गरिएको दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेम पाइजाले बताए ।
पोखरा र काठमाडौंका व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गरेपछि अहिले धमाधम सुन्तला टिप्ने काम भइरहेको छ । दोसल्लेका सबै घरले सुन्तलाखेती गरेका छन् । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाँझिएको जग्गामा सुन्तला रोपण गरेका छन् ।
“पहिले गाउँमा सामान्य जीविकोपार्जन गर्न पनि कठिन थियो, गाउँमा आम्दानीको कुनै स्रोत थिएन, आज सुन्तलाखेतीले स्थानीयलाई आर्थिक लाभ दिएको छ,” उनले भने, “सुन्तलाबाटै गाउँलेको जीवनस्तर बदलिएको छ ।”
पाइजाका अनुसार दोसल्लेमा १० हजार सुन्तलाका बोट छन् । २०६८ सालमा पोखराबाट माटो परीक्षण विभागबाट विज्ञ ल्याएर माटो परीक्षण गरी सुन्तलाखेतीमा लागेका दोसल्लेवासी हरेक वर्ष सुन्तलाखेती विस्तार गर्दै लगेका छन् ।
परम्परागत रूपमा धान, मकै, कोदो, भटमास हुने खेतबारी सुन्तलाले ढाकिएको छ । नयाँ बोटले फल दिन सुरु गरेकाले अबको केही वर्षमा यस गाउँमा सुन्तलाबाट वार्षिक तीन करोड बढी रकम भित्रिने स्थानीयवासीको अनुमान छ ।
दोसल्लेका सबै घरमा सुन्तलाखेती गरिएको छ । गाउँबाट बसाइँसराइ रोकिएको छ । पहिले बेनी, पोखरालगायत ठाउँमा बसाइँसराइ गरेकाले गाउँमा फर्किएर बाझिएको जग्गामा सुन्तला रोपण गरेका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका स्थानीय मायादेवी गर्बुजाले बताइन् ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया