शुक्रबार, माघ १६, २०८२

प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

मेरोन्यूज २०८२ माघ १६ गते १३:३३

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित सहिद स्मारक पुगी ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्रीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि सप्ताहव्यापी कार्यक्रम गर्दै आएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

सहिद दिवसको अन्तिम दिन आज बिहान शान्तिवाटिकाबाट प्रभात फेरी सुरु भएको थियो । शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्बिर राखिएको बग्गीसहितको प्रभात फेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।

सभामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरू, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अङ्गका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया