बिहीबार, माघ २२, २०८२

पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने

मेरोन्यूज २०८२ माघ २२ गते १३:३१

पर्वत। जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । जिल्लाका ६१ वटा वडामा रहेका १२७ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई अभियानमार्फत खोप सञ्चालन गर्न लागिएको हो ।

यही माघ २७ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने भएकाले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्कसँग लगाउन प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्यले किशोरीहरूलाई आग्रह गरे । उनका अनुसार जिल्लामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीलाई सम्बन्धित विद्यालयमा खोप केन्द्र स्थापना गरी खोप लगाइने छ ।

यस अवधिमा गत वर्ष खोप लगाउन छुट भएका कक्षा ७ देखि कक्षा १० सम्म अध्ययरत किशोरी तथा विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिइने उनले जानकारी दिए । जिल्लामा खोप अभियान एकै चरणमा सञ्चालन गरिने जनाइएको छ । अभियानका लागि १२७ स्वास्थ्यकर्मी र १२७ स्वंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले जानकारी दिए।

महिलाको शारिरीक तथा प्रजनन स्वास्थ्यसँग जोडिएको एचपिभी खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग र समन्वय आवश्यक पर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए । पाठेघरको मुखमा हुने क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उनले कोही पनि खोप लागउन छुट्न नहुने धारणा राखे । उनले अभियानमा छुटेकालाई थप एक साताको समय दिएर समावेश गरिने जानकारी दिए ।

जिल्ला खोप समन्वय समितिका संयोजक विष्णुराम विकले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचारप्रसारलाई तीव्र बनाइएको बताए । उनले खोप पूर्ण रूपमा सुरक्षित रहेकाले यसप्रति नकारात्मक धारणा नबनाउन सबैलाई आग्रह गरे ।योसँगै जिल्लाका सात वटै पालिका र वडास्तरमा पनि खोप अभियान सञ्चालनको तयारी भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्लामा गत वर्ष चार हजार ७४९ जनालाई एचपिभी खोप लगाइएको थियो ।

प्रतिक्रिया