बाँकेका मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगञ्ज। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदानअधिकृतका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।
बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले सो प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेको बताए । उनले भने “निर्वाचनलाई तनावका रुपमा लिन हुँदैन र त्यसलाई तनावका रुपमा लिँदा कठिनाइ आउन सक्ने भएकाले तनावको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ ”
उनले आगोको सानो झिल्कोले वन सखाप पारे जस्तै हाम्रा बोली, बचन र व्यवहारको सानो रुपले ठूलो रुप लिन सक्छ भन्ने कुरामा सचेत हुन जरुरी रहेको उल्लेख गरे । हरेक बोली र आचरणलाई होसियारिपूर्वक लिनुपर्नेमा जोड दिँदै मुख्य निर्वाचन अधिकृत दाहालले मतदान केन्द्रमा आउने अशक्त, धेरैबेर उभिन नसक्ने मतदाताका लागि स्थानीय तहको सहयोगमा टेन्टको व्यवस्थापन गर्न आग्रह गरे ।
“आचरण र अनुशासनलाई नियन्त्रणमा राख्ने जिम्मा यहाँहरुको हातमा छ”, उनले भने । आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको जानकारी दिदै मुख्य निर्वाचन अधिकृत दाहालले विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुने चेतावनी दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरेको वा नगरेको भन्ने विषयमा निगरानीमा रहेको बताए ।
उनले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधि अनुसार कडाइ गर्न निर्देशन दिए । “मतदातामध्ये अनुपस्थित मतदाताको मतदान भयो भने भयावह अवस्था हुनसक्छ” प्रमुख जिल्ला अधिकारी तामाङ्ले भने । बाँकेको सुरक्षा संवेदनशीललाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै उनले मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गरे ।
तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा ४०३ मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा ८०० मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी भएका छन् । सो प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत हुने निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।
















आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया