राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने

देउखुरी (दाङ)। काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ ।
आज निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा रमेश कँडेलले जानकारी दिए । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।
निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।
सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले बताए । “कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताबखाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ”, उनले भने ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ ।
निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप राप्तीसँग सम्झौता गरिएको बताए । विगत दुई वर्षदेखि एमबिबिएस र एमडीरएमएसजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।














युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा फराकिलो मतान्तरले विजयी
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
प्रतिक्रिया