बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा। जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर विरुद्धको पाँचदिने स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ ।
यही चैत १ गतेदेखि बिहीबारसम्म सञ्चालित शिविरमा गाउँपालिकाका सात वटै वडाका एक हजारभन्दा बढीको उपचार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिका वडा नं ४, ६ र ७ को धुलाचौरमा, वडा नं ५ को कुवाडीमा र वडा नं १, २ ३ को विच्छ्याँमा शिविर आयोजना गरिएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीहरूले प्रजनन स्वास्थ्यसम्बन्धी पाठेघरको आङ खस्ने, सेतोपानी बग्ने, क्यान्सर, रक्तअल्पताको उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।
उपचारका क्रममा पाँच सयभन्दा बढीमा पाठेघर समस्या, १४८ जनामा दम, मुटुरोग, मिर्गौला परीक्षण, मधुमहको उपचारलगायत नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिएको छ । यस्तैगरी ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर जाँच, १४ जनालाई प्रयोगशाला क्षयरोग परीक्षणलगायत सेवा प्रदान गरिएको उनले जानकारी दिए ।
घुम्ती शिविरमा ५० प्रतिशतभन्दा बढी महिलाको पाठेघर खस्ने समस्या देखिएको उपचारमा सङ्लग्न चिकित्सक डा रञ्जित शाहले बताएका छन् । महिनाबारी र सुत्केरी भएका बेलामा गहु्रङ्गो भारी बोक्ने तथा घरायसी कामका कारण पाठेघर खस्ने समस्या आएको हुनसक्ने उनको भनाइ छ ।
स्वास्थ्य शाखा प्रमुख भण्डारीले कामको बोझ, पोषिलो खानेकुराको कमी र बालविवाहका कारण पाठेघर खस्ने समस्याबाट बढी हुने गरेको पाइएको बताए । यस्तै, विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशा रोगसम्बन्धी समस्या बढी देखिएको छ ।
यहाँ हिमाली गाउँपालिकामा स्थापित आधारभूत स्वास्थ्य इकाई सेवा केन्द्रबाट प्राथमिक उपचार मात्र हुन्छ । ठूलो समस्या देखिए उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न पर्ने बाध्यता छ ।
गाउँपालिकाले विगतदेखि नै नागरिक उपचार सहायता कोष स्थापना गरी ग्रामीण भेगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै समस्या पहिचान तथा सेवा प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष गोविन्दवहादुर मल्लले बताए ।















इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
प्रतिक्रिया