शनिबार, चैत ७, २०८२

ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस

मेरोन्यूज २०८२ चैत ७ गते ९:४२

काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व ईद (ईद-उल-फित्र) को अवसरमा नेपाली कांग्रेसले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावको जगलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सुन्दर देश भएको उल्लेख गर्दै कांग्रेसले यहाँका विभिन्न जातजातिका आफ्नै विशिष्ट परम्परा र संस्कृति रहेको जनाएको छ। विविधता बिचको यही एकता नै नेपालीको विशिष्ट पहिचान भएको र यहाँका प्रत्येक पर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहेको विज्ञप्तिमा उल्लेख छ। ईद पर्वले नेपाली समाजमा लामो समयदेखि धार्मिक सहिष्णुता र आपसी मेलमिलाप बढाउँदै आएको कांग्रेसको ठम्याइ छ।

ईद पर्वले आपसी भाइचारा, सहिष्णुता, क्षमा, दया र मानवताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको कांग्रेसले जनाएको छ। यस पवित्र अवसरले सम्पूर्ण नेपालीहरूबीच आपसी एकता, विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। समाजमा मेलमिलापको वातावरण निर्माण गर्न ईद जस्ता पर्वहरूको ठुलो योगदान रहने कुरालाई कांग्रेसले जोड दिएको छ।पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा यस पावन अवसरले सम्पूर्ण धर्मावलम्बीहरूबिच एकताको सन्देश प्रवाह गर्ने र सामाजिक सद्भावलाई अझ प्रगाढ बनाउने कामना गरिएको छ। मुलुकमा शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न यो पर्वले सबैलाई ऊर्जा प्रदान गरोस् भन्दै कांग्रेसले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा ‘ईद मुबारक’ व्यक्त गरेको छ।

प्रतिक्रिया