युगकविको सम्झना गरिँदै

ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ ।
यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं डिसीको अभिनय छ । कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले जानकारी दिए । युगकविको परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ ।
विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभासमारोह राखिएका छैनन् । सिद्धिचरण संग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताए । युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनी नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिन्छन् ।
उनले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए । उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् । युगकविको २०४९ साल जेठ २२ गते निधन भएको हो । रासस













कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया