प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…

काठमाडौँ । पछिल्ला दिनमा प्रायः सुनसान रहेको सिंहदरबारमा आज प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले शपथ लिने समयभन्दा दुई घन्टा अगाडि नै चर्को भीडभाड देखियो । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्वपूर्ण संस्था सङ्घीय संसदमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु एकै साथ प्रवेश गर्दा स्वभाविकरुपमा सबैमा चासो र आकर्षण देखियो ।
गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचन सांसदहरुले आज पद तथा गोपनीयताको शपथ दिने समारोहका लागि संसद सचिवालयबाट सांसदहरुका लागि दुई घन्टा अगावै बोलाइएको थियो । सवारी जाम तथा नियमित गइरहेको स्थान नभएकाले कतिपय सांसदहरु अलमलमा परेर शपथ हुने समय २ः ०० बज्न पाँच मिनेट अघिसम्म पनि प्रवेश गर्दै थिए ।
मुलुकको शासन प्रणालीमा नीति निर्धारण तथा कानून निर्माण गर्ने जस्तो महत्वपूर्ण कार्य व्यवस्थापन कार्य विधिका माध्यमबाट सुनिश्चित गर्ने संसदमा अधिकांश नयाँ पुस्ता र नयाँ अनुहार भएकाले पनि समर्थक, कर्मचारी र पत्रकारमा पनि चासो बढेको पाइयो । भीड र सवारी व्यवस्थापनका लागि नेपाल प्रहरीका साथै संसद्का मर्यादापालकलाई भ्याइनभ्याइ थियो ।
जनताका प्रतिनिधिको स्वीकृति बिना कुनै कर नलगाइने भन्ने सिद्वान्त रहेको र करसम्बन्धी जनताद्वारा प्रत्यक्ष रुपमा निर्वाचित भई आएका प्रतिनिधिहरु रहेको प्रतिनिधिसभामा संविधानतः व्यवस्थापिका हो । तर संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्ने यस महत्वपूर्ण थलो भने अहिले अल्पकालीन संरचनाबाट सञ्चालित छ ।
विगतमा संसद् बैठक सञ्चालन हुँदै आएको नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएकाले र सिंहदरबारस्थित नयाँ संसद् भवन निर्माण सम्पन्न भइनसकेकाले पद तथा गोपनीयताको शपथका लागि सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हल प्रयोग गरिएको थियो । सोही हलमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।
सङ्घीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले पुरानो भवन क्षतिग्रस्त भएका र नयाँ भवन पूर्ण तयार भइनसकेको अवस्थामा विशेष हलको प्रबन्ध गरिएको बताए । उनका अनुसार नयाँ भवन सचिवालयलाई हस्तान्तरण नहुँदासम्म सोही हलमा संसद् बैठक सञ्चालन हुनेछ । उक्त संसद भवनको परिसर र पार्किङ निर्माणाधीन भएकाले पार्किङ र अन्य व्यवस्थापन अस्तव्यस्त देखिथ्यो ।
कुन द्वारबाट हलभित्र छिर्ने भन्ने स्पष्ट नहुँदा कुनै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाट ओर्लिएर सुरुमा बन्द भएको ढोकातर्फ पुगेका थिए ।
सञ्चारकर्मी र सुरक्षाकर्मीबाट घेरिएका कारण उनीहरुलाई झन् अलमल भएको थियो । आफैँ गाडी चलाएर आएका नेता शाह शपथपछि अरुभन्दा चाँडै बाहिरिएका थिए । यसअघिको संसदमा रहेका प्रधानमन्त्रीसमेत भइसकेका कतिपय नेता यस पटक सदनमा नरहेकाले पत्रकारको प्रश्न सोध्ने र नेताको जवाफ दिने शैली रोचक नै थियो ।
नयाँ वानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जस्तो व्यवस्थित संरचना निर्माण भइनसकेकाले धुलोमैलो रहेको सिंहदरबारको संसद् भवनको परिसरमा पत्रकारहरुका लागि प्रतिक्रिया दिन र तस्बिर खिच्न असुविधा भएको देखिन्थ्यो ।
हलमा स्थान अभावका कारण राष्ट्रिय सञ्चारमाध्यमका सीमित क्यामरापर्सनले मात्र शपथस्थलमा प्रवेश पाएका थिए । दर्शक दीर्घा पनि तयार भइनसकेकाले संसद् भवनको भईँ तलामा राखिएको ठूलो स्क्रिनमा कार्यक्रमको दृष्य देखाइएको थियो ।
संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुई प्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको थियो ।
शपथपछि सांसदहरुलाई प्रतीक चिन्ह (लोगो) र ब्याज उपलब्ध गराइएको थियो । शपथमा आएका सदस्यहरुले आफ्ना परिवारका सदस्यहरुलाई पनि ल्याएका थिए । रास्वपाका सांसद पुकार बमले बच्चा पनि साथ ल्याएका थिए ।
सोही पार्टीका सांसद रहबर अन्सारी विद्यालयका विद्यार्थीको पोसामा आउँदा जिज्ञाशाको पात्र बनेका थिए । जातजाति र संस्कृतिलाई प्रतिनिधित्व गर्दै सांसदहरु आफ्ना भेषभूषा तथा मर्यादित पोसाकमा सजिएर आएका थिए । अपाङ्गता भएका सांसदहरु ह्विलचेयरमा आएका थिए ।
नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको सपथ लिने व्यवस्था छ ।
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
प्रतिक्रिया