न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन

लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल भएका छन् । मङ्गलबार भएको आन्तरिक मतदानले उनी अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।
केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सार्नुभएको थियो । करिब तीन घण्टा चलेको ककस बैठकपछि उहाँले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिए ।
“मैले मेरो नेतृत्वप्रति विश्वासको औपचारिक प्रस्ताव पेस गरेको थिएँ”, उनले भने, “त्यो प्रस्ताव पारित भएको छ र यसले मलाई नेताका रूपमा मेरो ककसको समर्थन रहेको पुष्टि गरेको छ ।”
यद्यपि, उनले कति मतले जित हासिल गरे भन्ने खुलाएनन् । मतदान प्रक्रिया गोप्य राखिएको थियो र अन्तिम मत परिणाम स्वयं उनलाई पनि सार्वजनिक नगरिएको बताइएको छ । बैठकमा सहभागी सांसदहरूले मात्र मतदान गर्न पाएका थिए भने खराब मौसमका कारण वेलिङ्गटनतर्फका धेरै उडान रद्द हुँदा केही सदस्यहरू उपस्थित हुन सकेनन् ।
पछिल्ला महिनाहरूमा लक्सनको नेतृत्वबारे प्रश्नहरू बढिरहेका थिए । जनमत सर्वेक्षणमा उनको पार्टी ३० प्रतिशतभन्दा तल झरेको छ भने उनको व्यक्तिगत लोकप्रियता पनि घट्दो क्रममा देखिएको छ । यसै सन्दर्भमा केही सांसदहरू असन्तुष्ट रहेको र आगामी निर्वाचनमा पुनः निर्वाचित हुने सम्भावना कमजोर भएको चर्चा चलेको थियो ।
यस्ता अड्कलबाजीलाई लक्सनले ‘मिडिया सोप ओपेरा’ भन्दै अस्वीकार गरे । उनले अनुमान र हल्लामा आफू संलग्न नहुने स्पष्ट पार्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनेमा जोड दिए ।
यातायातमन्त्री क्रिस बिशपले पनि नेतृत्व परिवर्तनको सम्भावनाबारे उठेका चर्चाहरूलाई खारेज गर्दै अन्ततः लक्सनलाई समर्थन गरेको बताए । उनका अनुसार पार्टीभित्र ‘राम्रो, इमानदार र बलियो’ छलफलपछि सबैजना एकजुट भएर अघि बढ्ने सहमति बनेको हो ।
अर्थमन्त्री तथा उपनेता निकोला विलिसले यो मतदानले ककसबाट स्पष्ट सन्देश गएको बताए, यद्यपि उनले पनि मत परिणामबारे जानकारी नभएको स्वीकार गरे ।
तर गठबन्धन सरकारका साझेदार तथा विदेशमन्त्री विन्स्टन पिटर्सले भने यस्तो विश्वास मतलाई ‘अहंकारी फोहोर’ को संज्ञा दिँदै आलोचना गरे ।
यस घटनाले लक्सन तत्कालका लागि नेतृत्व सुरक्षित गर्न सफल भए पनि कमजोर जनसमर्थन र आन्तरिक दबाबका कारण आगामी चुनावअघि उहाँका लागि राजनीतिक परीक्षा अझै बाँकी रहेको सङ्केत गरेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया