मास्क लगाएर खेती गर्दै किसान

बलेवा । कोरोनाको संक्रमणले गाउँतहसम्म आक्रान्त पारेपछि खेतीपाती गर्नेले पनि मास्क लगाएर काम गर्न थालेका छन् । मास्क लगाउने, नियमित हात धुने, सरसफाइमा ध्यान दिने र सामाजिक दुरी कायम गर्ने मान्यतालाई ग्रामीण क्षेत्रमा पालना गर्न थालेको किसानले बताए । ‘‘काम नगरी खान पाइँदैन, तर सामाजिक दुरी बनाएर काम गरेका छौं’’ बागलुङ नगरपालिका-१२ अमलाचौरकी पार्वती आचार्यले भने, ‘‘मकै गोड्न जाँदा पनि मास्क अनिवार्य गरेका छौंँ ।’’
बालबालिका, बुढाबुढीसहित सबैलाई मास्कको आवश्यकताबारे स्वास्थ्यकर्मीले जानकारी गराएका थिए । शुरुआतमा अटेर गरेकाहरु गाउँघरमा संक्रमित थपिएपछि मात्रै डराएर लगाउन थालेका हुन् । घरमा बस्दा पनि अनिवार्य मास्क लगाउन भनेको अमलाचौर स्वास्थ्य चौकीकी अनमी कल्पना शर्माले बताए । ‘‘शुरुमा लापरवाही थियो, जथाभावी हिंड्ने पनि थिए, गाली गरियो, सम्झाइयो अनिमात्र सुधार भएको छ’’, शर्माले भने, ‘‘लक्षण देखिएमा कोरोना परीक्षणमा पनि पठाइएको छ ।’’
बलेवा क्षेत्रमा मात्रै अझैपनि ३५० बढी सक्रिय संक्रमित छन् । घरघरमा संक्रमण अझै बढ्ने खतरा रोक्न बाहिर निस्कन कडाइ गरिएको उनले बताए । यतिबेला गाउँगाउँमा खेतीपातीको समय छ । ताराखोला, ढोरपाटन, बडिगाडका उच्च पहाडी क्षेत्रमा मकै गोड्ने, उच्च स्थानमा आलु खन्ने काम भैरहेका छन् । ‘‘काम त गर्नैपर्छ, तर सर्तकता अपनाएका छौं’’ ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले भने, ‘‘बारीमा पनि सामाजिक दुरी कायम गरेका छौं ।’’
यो वर्ष अघिल्लो वर्षझै पर्म लगाउन नसकेको उनको भनाइ छ । पर्मका लागि मानिस जुटाउँदा संक्रमणको डर भएकोले एक्लाएक्लै काम गरिएको उनले बताए । गलकोटमा पनि खेताला नपाउने समस्या परेको स्थानीयवासी बताउँछन् । बडिगाडका किसानले यतिबेला बढी सास्ती खेपेका छन् । यहाँ धेरै संक्रमित भेटिएका छन् । धेरै जनाको मृत्यु भएकाले कतिपय सामान्य लक्षण भएका पनि कमजोर बनेकाले घरको कामसमेत गर्न नसकेको स्थानीयवासी झविन्द्र बुढाथोकीले बताए ।
‘‘गाइभैँसीलाई घाँसपात पनि गर्न नसकेर भित्रै बसेकाहरु पनि छन्’’ उनले भने, ‘‘वैशाखको २० पछि खेतीपातीमा ध्यान दिनै पाइएको छैन ।’’ चरनमा लैजाने किसानले यसपटक पशुलाई घरमै बाँधेर राखेका छन् । रासस










पोखरालाई विराटनगरकाे विशाल लक्ष्य
हाजिरीमा सिमित छन् फिर्ता बोलाइका राजदूत
जथाभावी औषधि सेवन नगर्न स्वास्थ्यमन्त्री डा गौतमको आग्रह
एनपिएलः रवि बोपारा बने अर्धशतक बनाउने तेस्रो खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया