उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो

मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्ताले महँगो मूल्यमा केरा किन्नुपरेको भए पनि किसानले सस्तो मूल्यमा बेच्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।
मध्यविन्दु नगरपालिका–६ बरुवाका किसान दुर्गाप्रसाद भुर्तेल उत्पादनअनुसार मूल्य नपाउँदा बीचमै व्यवसाय छोड्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । विगत ३० वर्षदेखि केराखेती सुरु गर्नुभएका उहाँले नौ वर्षयता व्यावसायिक केराखेती गर्दै आएका छन् ।
“हाल केरा बेच्दा प्रतिकोसा रु पाँच÷छ मात्रै पाइरहेका छौँ । लागत, मेहनत र जोखिम हेर्दा यो मूल्यले त टिक्नै गाह्रो छ”, भुर्तेलले भन्नुभयो, “रोग–किरा, हावाहुरी तथा असिनापानीका कारण उत्पादनमा समेत निरन्तर असर परिरहेको छ, जसले लागत झन् बढाएको छ ।”
यस्तै, कावासोती नगरपालिका–१३ की फुलकुमारी महतोले अन्य बालीभन्दा राम्रो आम्दानी हुने अपेक्षासहित चार बिघा जमिनमा केराखेती गर्दै आए पनि उचित मूल्य नपाउँदा निराशा बढ्दै गएको बताउनुभयो । “लाखौँ लगानी गरेर खेती गरेका छौँ, तर सस्तोमा बेच्नुपरेको छ, तर बजारमा भने उपभोक्ताले महँगो तिरिरहेका छन् । बीचमा कसले फाइदा लिएको छ, बुझ्नै गाह्रो छ”, उनले भने ।
कावासोती कृषिउपज थोक बजार व्यवस्थापन समितिका अनुसार आज केराको थोक मूल्य प्रतिदर्जन रु एक सय ३२ र खुद्रा मूल्य रु एक सय ५० सम्ममा बिक्री भइरहेको छ । किसानले भने यही केरा प्रतिदर्जन रु ६० देखि रु ७२ सम्म मात्र पाउने गरेका छन् । किसान र उपभोक्ताबीचको यो ठूलो मूल्य अन्तरले बजार प्रणालीप्रति नै प्रश्न उठाएको छ ।
बिचौलिया नियन्त्रण, उचित समर्थन मूल्य निर्धारण तथा प्रत्यक्ष बजार पहुँच सुनिश्चित गर्नसके आफूहरूलाई राहत मिल्ने किसान दुर्गाप्रसाद भुर्तेलले बताउनुभयो । समयमै प्रभावकारी नीति नल्याए केराखेतीप्रति किसानको आकर्षण घट्ने जोखिम रहेको उनले बताए ।
कृषि विकास कार्यालयका सूचना अधिकारी सञ्जय ढकालका अनुसार जिल्लामा हाल पाँच सय ५१ हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । उत्पादन बढ्दो क्रममा रहे पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा भने असन्तुलन रहेको उनको भनाइ छ ।















बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया