आइतबार, जेठ ४, २०८२

नेकपा (एमाले)

अप्ठ्याराेमा परेपछि पार्टी मिलाउन ओलीकाे दाैडधुप

शीतल निवासमा राष्ट्रपतिसँग भेटपछि वालुवाटारमा इश्वर पाेखरेल र सुवास नेम्वाङसँग छलफल

मेरोन्यूज २०७८ जेठ १९ गते २२:०६
फाइल फाेटाे

काठमाडाैं । सरकार र पार्टीभित्र अप्ठ्याराेमा परेपछि प्रधानमन्त्री एवं सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी मिलाउन दाैडधुपमा लागेका छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष ओलीसँग मिल्न नसकिने निष्कर्षसहित नयाँ पार्टी गठनकाे तयारीमा जुटेसँगै ओलीकाे दाैडधुप बढेकाे हाे ।

बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका ओली बालुवाटर फर्केलगत्तै अहिले महासचिव इश्वर पाेखरेल र नेता सुवास नेम्वाङसँगकाे छलफलमा जुटेका छन् । राष्ट्रपतिसँगकाे भेटमा उनीहरूबीच एमालेभित्र देखिएकाे विवादका विषयमा कुराकानी भएकाे स्राेतकाे दाबी छ ।

पछिल्ला केही दिनयता राष्ट्रपति भण्डारी एमालेभित्र देखिएकाे विवाद मिलाउन सक्रिय देखिएकी छिन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँगकाे भेटलाई बाक्लाे बनाएकी छिन् । एमालेभित्र देखिएकाे विवाद मिलाउन केही नेता सक्रिय रहेका कारण ओली पक्षले लगातार स्थायी कमिटी बैठक सारिरहेकाे छ ।

स्थायी कमिटीकाे बैठकले माधवकुमार नेपाल पक्षका १२ सांसदलाई कारबाही गर्ने तयारी गरेकाे थियाे । यसअघि बसेकाे स्थायी कमिटी बैठकले नेता खनाल, नेपाल, भीमबहादुर रावलसहित ११ जनालाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरिसकेकाे छ ।

महासचिव पोखरेलले आजै नेपाल पक्षीय नेता योगेशकुमार भट्टराईसँग छलफल गरेका थिए । विद्यमान स्थिति र दुवै पक्षका प्रस्ताव तथा आवश्यकतालाई कसरी सम्बोधन गराउने र पार्टीलाई एकताबद्ध कायम राख्ने विषयमा उनीहरुबीच छलफल भएको थियाे । नेता भट्टराईलगायत केही नेता नेपाल निकट मानिए पनि विपक्षीलाई प्रधानमन्त्री बनाउन गठबन्धन वा नयाँ पार्टी दर्ता गर्ने विषयमा असहमत भएकाले उनीहरूलाई फकाउन पाेखरेल लागेका छन् ।

नेताहरुको अनौपचारिक परामर्श जारी रहेकै कारण आज दिउँसो ४ बजेका लागि डाकिएको एमालेको स्थायी कमिटी बैठक बिहीबारका लागि सारिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केहीदिन यता संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र नेपा पक्षबाट सुुरेन्द्र पाण्डे, भट्टराई र गोकर्णराज विष्टबीच निरन्तर छलफल भइरहेकाे छ ।

यसैबीच, एमालेकै खनाल- नेपाल पक्षले रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न भोलि बिहान ११ बजे भर्चुअलरूपमा बैठक बस्नेछ ।

प्रतिक्रिया