बुधबार, जेठ ७, २०८२

नेपालको भूभागमा असर पुग्ने गतिविधि रोक्न दार्चुलाका प्रजिअको समकक्षीलाई पत्राचार

मेरोन्यूज २०७८ जेठ २९ गते ९:५३

तस्बिर सौजन्य : शसस्त्र प्रहरी बल

दार्चुला । नेपालको भूभागमा असर पुग्ने गरी भएका गतिविधि रोक्न दार्चुलका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी (डिस्ट्रिक मजिस्ट्रे) आनन्द स्वरूपलाई पत्राचार गरेका छन् ।

महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको प्राकृतिक बहाव नै परिवर्तन हुने गरी सीमावर्ती क्षेत्रमा भएका ज्यादती रोक्न उनले समकक्षीलाई पत्र पठाएर ध्यानाकर्षाण गराएका हुन् ।

प्रजिअ जोशीले त्यसको जानकारी गृह मन्त्रालयमा पनि गराएका छन् ।

भारतीयका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले त्यसलाई खुलाउन भारतीय पक्षलाई प्रमुख जिल्ला अधिकारी जोशीले आग्रह गरेका हुन् ।

भारतले आफ्नोतर्फ सडक निर्माण गर्दा खसेको पहिरोले नदीको बहाव नेपालतर्फ आएर सडक डुबाउनुका साथै भत्काएको छ ।

दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ र कल्जु गाउँ जोड्ने महाकाली किनारतर्फको घोडेटो मंगलबार पारिपट्टि निर्माणाधीन धारचुला–लिपुलेक सडक विस्तार गर्दा चट्टान खसेर भत्किएको थियो ।

त्यसको दुई दिनपछि बिहीबार प्रजिअ जोशीले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएर त्यस्ता गतिविधि रोक्न भारतीय पक्षलाई पत्र पठाएका हुन् ।

महाकाली नदीको प्राकृतिक बहावलाई अतिक्रमण गरेर भारतीय पक्षले पटक–पटक गैरकानुनी र एकतर्फी संरचना बनाउने गरेको भन्दै प्रजिअ अधिकारीले आपत्ति जनाएका छन् ।


‘२०७२ सालमा बाढी आउँदा महाकालीको धार परिवर्तन भएर नेपालतर्फ सोझियो, त्यसको मौका छोपेर एकतर्फी रूपमा पछिल्लोपटक करिब डेढ सय मिटरमा नेपाली भूमिसमेत समेटेर बाँध बनाइएको छ, त्यसले अब नदीमा बाढी आउँदा पनि धार नेपालतर्फ सोझिन्छ,’ उनले भने, ‘यस विषयमा गृहमार्फत परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराइएको हो, पिथौरागढ प्रशासनलाई पठाएको पत्रको त जवाफ नै आएन । गत वर्ष घाँटीबगर क्षेत्रमा नेपालतर्फ घोडेटो बनाउँदा पनि भारतीयले अवरोध गरे ।’

नेपालको लिपुलेक, कालापानी लिम्पियाधुरा सम्मको भूभागमा भारतले अतिक्रमण गरेको छ । त्यसप्रति नेपालले विरोध जनाउँदै आईरहेको छ ।

प्रतिक्रिया