किसानको दुखेसोः समयमा मलखाद पाउनै सकस

महेन्द्रनगर । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् ।
कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् ।
“न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै गर्यो”, वेदकोट नगरपालिका–५ का लालबहादुर डगौंराले भने, “लकडाउनले बजार बन्द रहँदा मलखाद खरिद गर्न पनि सहज भएन ।”
उनले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोखे । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उनको भनाइ थियो ।
“बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो”, उनले भने, “महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।”
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासी मदन चन्दले मलखाद आयातमा रोक लगाउन नहुने बताए ।
“कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु गर्यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ”, उनले भने, “एकाध बोरा मलखाद सीमामा नियन्त्रणमा लिएर कुनै ठूलो उपलब्ध हुने होइन ।”
उनले भारतबाट लुकिछिपी आउने तस्करीको मल किसानले चर्को मूल्यमा खरिद गर्नुको विकल्प नरहेको बताए ।
नेपाल किसान संघका केन्द्रीय सदस्य नारायणदत्त पन्तले अहिलेको परिस्थितिमा किसानले सास्ती खेप्नुपरेको बताए ।
“सरकारले मल दिन नसकेको परिस्थिति छ”, किसान नेता पन्तले भने, “अन्यत्रबाट ल्याउँदा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिइन्छ ।” उनले समयमा खेती लगाउन मलखाद पनि समयमै पाउनुपर्नेमा जोड दिए ।
यहाँको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले जिल्लामा किसानको मागअनुसार मलखाद पाउन नसकेको बताए । उनका अनुसार कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो वर्ष १० प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
प्रतिक्रिया