जसपा विवाद
असार तेस्रो सातासम्म राजपा ब्यूँताउने तयारीमा महन्थ ठाकुर पक्ष
राजपा ब्यूँतिए हृदयेश त्रिपाठीको समूहसमेत समावेश हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले राष्ट्रिय जनता पार्टी (राजपा) ब्यूँताउने तयारी गरेको छ । जसै गरे पनि पार्टीमा आधिकारिकता पाउने अवस्था नदेखिएपछि उनले तत्कालीन आफू नेतृत्वको पार्टी राजपा ब्यूँताउने तयारी गरेको हो ।
राजपाबाट चोइटिएर गएका हृदयश त्रिपाठी, ब्रिजेश गुप्तलगायत नेतालाई समेटेर राजपा ब्यूँताउने तयारीमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता तथा वर्तमान सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोलगायतका नेता लागेका हुन् ।
स्रोतका अनुसार २२ असारमा राजपा पुनः दर्ता गर्ने तयारी ठाकुर समूहको छ । त्योभन्दा पहिले पार्टी दर्ता गर्ने तयारी भएपछि राजनीतिक दलसम्बन्धी नियमावली २०७३ को पहिलो संशोधन २०७४ अनुसार पुरानो पार्टी पुनः दर्ता गर्न एक वर्ष पर्खनु पर्ने भएकाले २२ गतेसम्म कुर्न परेको समूहका एक नेताले बताए ।
गत वर्षको ११ जेठमा तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा बनेको थियो । पार्टी एक भएको जानकारी २२ असारमा निर्वाचन आयोगलाई दिइएको थियो । सोही आधारमा २२ असारसम्म बाटो पार्टी दर्ता गर्न पर्खिने ती नेताले जानकारी दिए ।
दुई समूह एक ठाउँमा बस्न सक्ने अवस्था नरहेको र आफूहरूले बहुमत पु¥याउन सक्ने अवस्था पनि नरहेकाले पुरानो पार्टीलाई व्यवस्थित बनाउनतर्फ नेताहरू लागेका हुन् । राजपा ब्यूँताउने भएमा आफूहरू पनि आउने त्रिपाठी समूहले बताएपछि त्यो तयारीमा नेताहरू लागका हुन् ।
राजनीतिक दलसम्बन्धी नियमावली २०७३ पहिलो संशोधनमा पार्टीमा केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा बहुमत पु¥याउनेले अर्को समूहलाई कारबाही गर्न सक्छ । अहिले प्रतिनिधिसभा नभएकाले संसदीय दल छैन ।
बाँकी रह्यो केन्द्रीय कार्यकारिणी समिति । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३१ सदस्य विपक्षीमा रहेकाले आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि राजपा ब्यूँताउने तयारीमा नेताहरू लागेका हुन् । कार्यकारिणी समितिमा बहुमत जुटाउन गरेको प्रयास निरर्थक भएपछि त्यो तयारीमा भएको हो ।
ठाकुर समूहले अर्का अध्यक्ष उपेन्द्र यादव समूहका ५ जना सांसदलाई आफूतिर ल्याए जस्तै त्यति नै संख्यामा कार्यकारिणी सदस्यहरूलाई आफूतिर ल्याउन प्रयास गरेको थियो । यसको लागि ठाकुर र महतो सक्रिय भएका थिए । तर, यादव समूहका एक जना मात्र कार्यकारिणी समितिका सदस्य दानबहादुर विश्वकर्मालाई ल्याउन सकेका ती नेताको भनाई छ ।
आफ्नो समूहमा बहुमत फुटाउन ठाकुर समूहले यादव समूहबाट आफ्नो समूहमा आएका ५ जना सांसदमध्ये ३ जना सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तब र रेणुका गुरुङलाई मन्त्री बनाएको छ । तर, कार्यकारिणी समितिमा बहुमत जुटाउन नसकेपछि पुरानो पार्टी ब्यूँताउन लागेका हुन् ।
ठाकुरका विश्वास पात्र सर्वेन्द्रनाथ शुक्लले असारभरमा पार्टी बलियो बनाउन केही नयाँ कदम चाल्ने तयारी भएको बताए । उनले भने, ‘पार्टीभित्रको विवाद त्यत्तिकै समाधान हुने अवस्था देखिएको छैन । हामी असारभर केही नयाँ गर्ने तयारी गरिरहेका छौँ । निर्णय भएपछि थाहा पाइहाल्नुहुन्छ ।’
उनले राजपा ब्यूँताउने तयारी भएको हो र भन्ने प्रश्नको उत्तर भने दिन चाहेनन् । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र विपक्षी गठबन्धनलाई समर्थन गर्ने भन्ने विषयमा भएको विवादले जसपा टुक्रिने अवस्थामा पुगेको हो ।
अझ १८ जेठमा दुई अध्यक्ष यादव र ठाकुरले एक÷अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विवाद चरमोत्कर्षमा पुगेको छ ।
प्रतिक्रिया