ओलीले बोलाउने केन्द्रीय कमिटी बैठकमा जालान् माधव नेपाल ?
भोलि बैठक वसेर महाधिवेशन आयोजक कमिटी भंग गर्ने र पर्सि केन्द्रीय कमिटी बैठक बोलाउने तयारीमा ओली लागेका छन् ।

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले लचकता अपनाएपनि माधव नेपाललगायत केही नेताहरु पार्टीभित्र रहने वा नरहने दोधारमा रहेका छन् ।
एमालेको ओली पक्षले २०७७ फागुन २८ गते यताका सबै निर्णयहरु बदरभागी हुने गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई भंग गरी केन्द्रीय कमिटीमा रुपान्तरण गर्न वुधबार आयोजक कमिटिको बैठक बोलाएको छ ।
आयोजक कमिटी बैठकमा माधव नेपाल, झलनाथ खनालसहित पार्टीबाट निश्कासन गरेका ११ नेतालाई बाहेक सबैलाई खबर पठाइएको छ । पार्टीले कारबाही गरेका ११ नेताबाहेक अरुलाई बैठकमा बोलाएको एमाले केन्द्रीय पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले मेरोन्यूजलाई बताए ।
उनका अनुसार कारबाहीमा परेका वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायत एघार जनालाई बोलाइएको छैन । भोलिको (बुधबार) बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरेपछि भने माधव नेपाल, झलनाथ खनाललगायत ११ नेतामाथि गरिएको कारवाही पनि स्वतः बदरभागी हुनेछ ।
केन्द्रीय कमिटीमा पहिलेकै अवस्थामा पूर्नस्थापित हुनेछन् । ओली पक्षले भने आयोजक कमिटी भंग गरेको भोलिपल्टै अर्थात बिहीबार नै जेठ २ को केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेका छन् । उक्त बैठकमा भने माधव नेपालसहितलाई बैठकको सूचना गरिने तयारी ओली पक्षको छ ।
तर पदाधिकारी तथा स्थायी कमिटीको बैठकसमेत बोलाउने तयारी हुँदा पनि नेपाल पक्ष त्यो बैठकमा उपस्थित हुने/नहुने एकीन छैन । एमालेका सबै कमिटीहरु पूर्ववत् व्यूत्याएर निर्णय प्रक्रियामा नेपाल समूहलाई राख्ने तयारी भएको छ । त्यहीबाट पूर्वमाओवादी समूहलाई पनि पार्टीभित्र ल्याउन लागिएको छ ।
सर्वोच्च अदालतले आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्दै ओली पक्षले नेपाललगायत केही नेताहरु नआएपनि पार्टी फूटको आरोपबाट जोगिन सबै कमिटी पूर्ववत् फर्काउन लागेका हुन् ।
स्रोतका अनुसार बुधवार बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकले बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाउनेछ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने तथा देशभरका सबै संगठनहरु पूर्ववत् रुपमा बैठक बसी नयाँ निर्णय गर्न पाउनेछन् ।
त्यसो हुँदा दुवै पक्षका निर्णयहरु बदरभागी हुनेछन् भनेर घोषणा गर्ने र त्यहीअनुसार नेपाल खनाल लगायतलाई गरिएको कारवाहीको औचित्य समाप्त हुने जनाइएको छ । फागुन २८ मा बसेको बैठकले अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन गरेको थियो ।
नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले सर्वोच्च अदालतले अवैधानिक ठहर गरेको आयोजक कमिटीको बैठकमा जान नसकिने बताए । उनले केन्द्रीय कमिटी बठैकको बारेमा भने अहिले नै केही भन्न नसकिने बताए । नेपाल समूहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको र २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने गरी कार्यतालिका तय भएको छ ।
एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ । २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नु पूर्व ४१ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो । ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीको २०० सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो ।
अहिले एमालेमा एकताको भावनाअनुसार एमालेमै आएका २३ जनासहितको केन्द्रीय सदस्यहरुलाई मनोनयन गरेर केन्द्रीय कमिटीको बैठक राख्न लागिएको हो । नेपाल समूहले जेठ २ अघिकै केन्द्रीय कमिटी बैठक बसेर त्यसपछि अरुलाई थप्न सकिने बताउँदै आएको छ । तर अहिलेको एमाले तीन वर्षअघिको नभई एकतासहितको एमाले भएकाले अव्यहारिक र कसैलाई अपमानित हुने व्यवहार गर्नु नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ ।
जेठ २ मा फर्केपछि सबै नेताहरुको पद यथावत रहनेछन् । तर पनि नेपाल समूहका केही नेताहरुले अहिले सबै कुरा भन्न नसकिने बताइरहेको छन् । उनीहरुले नेपालबाहेको एकताको कुराकानी औचित्यपूर्ण नभएको बताइरहेका छन् ।
‘हामी अहिले नै केही भन्न सक्दैनौ भोली उनीहरु कसरी प्रस्तुत हुन्छन्’, नेपाल पक्षका नेता वेदुराम भुसालले भने ‘प्याकेजमा कुराकानी भएन र नेपाल बाहेकको एकता मिलान वा जे भन्नुस त्यो सोच्ने कुरा पनि भएन ।’
दोस्रो पुस्ताका नेताहरुको निरन्तर प्रयासपछि ओलीले २०७५ जेठ २ गतेको पार्टी संरचना फर्काउन तयार भएको र नेपाल समूहले राखेको माग पूरा गर्न तयार भएपनि नेपाल पक्षले बैठकमा सहभागि जनाउने वा बाहिर बस्ने भन्ने बारेमा केही बताउन चाहिरहेका छैनन् ।
ओलीले फागुन २८ गते गरिएको सबै निर्णयहरु बदर गर्दै पार्टी पूर्ववत् संरचनामा फर्कोको घोषणा गर्दै एमालेको पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेपनि नेपाल समूहका केही नेताहरु पार्टीमा आउदैनन् कि भन्ने आशंका कायमै राखेका छन् ।









‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
एमालेकाे स्वयंसेवक फोर्सले संकट र विपत्तिमा सघाउँछः अध्यक्ष ओली
पोखराविरुद्ध पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया