आइतबार, वैशाख ७, २०८२

राङरुङमा रुखमा चढ्ने साहसिक खेल शुरु

मेरोन्यूज २०७८ असार १५ गते २२:०९

दमौली । कोरोना कहरका कारण थला परेको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–७ राङरुङमा रुखमा चढ्ने (ट्रि क्लाइम्बिङ) सहासिक खेल शुरु भएको छ ।

राङरुङलाई पर्यटकीय गन्तव्यस्थल बनाउन फरक गतिविधिको खोजीमा रहेको वडाकार्यालयले एसेट इन्ट्रोगिटी ग्रुपको प्राविधिक सहयोगमा रुखमा चढ्ने खेल सञ्चालन गरेको हो ।

डोरीको सहायताले रुख चढ्ने, रुखका विभिन्न स्थानमा डोरीमा झुण्डिएर वारपार गर्ने यो मनोरञ्जनात्मक खेलबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताए ।

“नयाँ गन्तव्यको खोजी अभियानअन्तर्गत रुख चढ्ने खेल सञ्चालन गरेका हौँ, यसले पर्यटकलाई आकर्षित गर्न सक्नेमा ढुक्क छौँ”, श्रेष्ठले भने । उनका अनुसार पछिल्लो समय साहसिक खेलतर्फ पर्यटकको आकर्षण बढ्दै गएकाले रुख चढ्ने खेल पर्यटकको रोजाइमा पर्नेछ ।

यहाँ निर्माण गरिएको रुखमा एक पटकमा पाँच जनासम्म चढ्न मिल्ने बनाइएको छ । “पाँच वटा डोरी राखिएको छ, एकै पटक पाँच जना चढ्न मिल्छ, अहिले तत्कालका लागि ३० मिटरसम्म झुण्डिएर माथि जान सकिन्छ”, वडाध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया