शनिबार, मंसिर ६, २०८२

७ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न (प्रस्ताव सहित)

मेरोन्यूज २०७८ असार १८ गते १५:१६

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको १३ औँ बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक ७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बैठकले पुष्पलाल, मनमोहन र मदन भण्डारीलगायतका अग्रजप्रति सम्मान गरेकाे छ ।

बैठकले कोभिड १९ बाट मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलीका साथै संक्रमितकाे स्वास्थलाभको कामना गरेको थियो । बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठकले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना र विस्थापितको दीगो पुनर्स्थापना गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै बैठकले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना र पार्टीको तर्फबाट उपचार खर्चको व्यवस्था गर्ने, पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति बधाई ज्ञापन गरेको छ । बैठकले आफ्ना पार्टीका कतिपय निवर्तमान सांसदबाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर हुनु राष्ट्र र जनताका हितका समेत विपरीत भएको ठहर गरेको छ ।

“आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हाम्रो पार्टीका कतिपय सांसदहरू हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु नेपालको संविधानको मर्म र भावना, लोकतान्त्रिक पद्धति र पार्टीको विधान विपरीतको विषय हो” पारित प्रस्तावमा भनिएको छ, “यस्ता गतिविधि राष्ट्र र जनताका हितका समेत विपरीत छ, तसर्थ यो बैठक त्यसरी हस्ताक्षर गर्ने पार्टीका निवर्तमान सांसदलाई आउँदो सोमबार ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देश गर्दछ । यस्ता अनधिकृत हस्ताक्षरको वैधता स्थापित हुन नसक्ने र यी हस्ताक्षरहरू मान्य हुन नसक्नेतर्फ पनि हाम्रो पार्टी सम्बद्ध सबैमा स्पष्ट पार्न चाहन्छ ।”

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकबाट पारित प्रस्तावमा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाह रहेको र यो नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्ति तथा यो देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रिय एकताको बलियो आधारस्तम्भ भएको उल्लेख गरिएको छ । नेपालका अग्रगामी परिवर्तनको मुख्य संवाहक र नेपालको संविधान निर्माणको निर्णायक एवं नेतृत्वदायी शक्ति एमाले भएकाले यस पार्टीलाई एकताबद्ध, सुदृढ र नेतृत्वदायी स्थानमा स्थापित गरेर मात्रै परिवर्तनका उपलब्धिलाई रक्षा गर्न सकिने बैठकको ठहर छ ।

“मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ र समाजवादका आधारहरू निर्माण गर्न सकिन्छ । तर पार्टीमा विगत केही समय यता उत्पन्न असहज अवस्थाले पार्टीका हजारौं नेता–कार्यकर्ता तथा समर्थक–शुभचिन्तकलाई चिन्तित तुल्याएको छ भने विरोधी शक्तिहरूलाई उत्साहित बनाएको छ । स्थितिको गाम्भीर्य, पार्टीको काँधमाथिका ऐतिहासिक अभिभारा, पार्टीपङ्क्तिको भावना एवं जनचाहनालाई केन्द्रबिन्दुमा राखेर पार्टी एकताको रक्षा, विकास र पार्टीको सुदृढीकरणका लागि आ–आफ्नो स्थानबाट रचनात्मक योगदान गर्न यो बैठक पार्टीका सबै नेता–कार्यकर्तालाई आह्वान गर्दछ” बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नेता माधवकुमार नेपाल पक्षकै मागसमेतका आधारमा महाधिवेशन आयोजक कमिटीलाई पूर्ववत् केन्द्रीय कमिटीमा रुपानतरणपछि आयोजित आजको बैठकमा उपाध्यक्ष वामेदव गौतम सहभागी भएपनि कतिपय नेता अनुपस्थित भएका थिए । एमालेले २०७५ जेठ २ सम्म कायम केन्द्रीय सदस्य, माओवादी केन्द्रमा एकतापूर्व २०७५ जेठ ३ मा थप भएका र एकता प्रक्रियामा आएमा रामबहादुर थापासहित २० नेतासहित गरी २६१ सदस्यीय केन्द्रीय कमिटी कायम गरेको छ ।

नेता नेपाल पक्षले पहिला २०७५ जेठ २ मा कायम २०६ सदस्यीय केन्द्रीय कमिटीको बैठक डाक्नुपर्नेलगायत विषयमा सहमतिपछि बैठक राख्न माग गर्दै आएको छ । बैठकमा वामदेव गौतमले पार्टी अध्यक्षसँग आएको भन्दै फर्केर नजाने बताएका थिए । पार्टीले ननिकालेसम्म पार्टी छोडेर नजाने भन्दै उनले आफूलाई जिम्मेवारी दिएमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहमतिमा पार्टी एकता गराउने बताएका थिए ।

प्रतिक्रिया