बिहीबार, चैत १२, २०८२

बायो ग्यास प्लान्ट निर्माण गर्दै टीकापुर नगरपालिका

मेरोन्यूज २०७८ असार २० गते १२:४५

कैलाली । टीकापुर नगरपालिकाले सामुदायिक पशु चौपायाबाट उत्सर्जन भएको फोहरबाट बायो ग्यास उत्पादनका लागि प्रक्रिया अगाडि बढाएको छ । सामुदायिक छाडा पशु चौपाया व्यवस्थापनमा नगरपालिकाको वार्षिक लाखौँ रकम खर्च हुन थालेको जनाइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको साझेदारीमा आयोजनाको काम अगाडि बढाइएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एक करोड ६० लाख १४ हजार २६४ को लागतमा नेपाल ऊर्जा विकास कम्पनी काठमाडौँले निर्माणको काम गर्दै आएको छ । यसमा ६५ प्रतिशत केन्द्र र ३५ प्रतिशत नगरपालिकाको लगानीमा आयोजना निर्माण हुन लागेको हो । नगरपालिकाले खोटेना भुराखानी सामुदायिक वनमा सामुदायिक पशु चौपाया व्यवस्थापन गर्दै आएको छ । सामुदायिक पशु चौपाया व्यवस्थापनमा मात्रै नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी रकम खर्च गर्दै आएको छ । बजार तथा गाउँ क्षेत्रमा सामुदायिक पशु चौपायाको सङ्ख्यामा कमी आउन सकेको छैन ।

नगर प्रमुख तपेन्द्रबहादुर रावलले सामुदायिक पशु चौपायाको व्यवस्थापनसँगै त्यसबाट लाभ लिनसक्ने एउटै माध्यम बायोग्यास उत्पादन भएकाले नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न २०० घनमिटर क्षमताको बायो ग्यास प्लान्ट निर्माण कार्य अगाडि बढाएको बताए । “किसानको समस्या समाधानका लागि सामुदायिक पशु चौपाया व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक २० लाखभन्दा बढी खर्च गर्दै आए पनि परिणाममा त्यसको उपलब्धि देखिएको छैन”, उनले भने, “ती व्यवस्थापन गरिएका चौपायाको मलमूत्रबाट हामीले बायोग्यास उत्पादन गर्ने तयारी गरेका छौँ । यसले विपन्न वर्गका नागरिकलाई राहत मिल्ने छ ।”

नगर प्रमुख रावलले प्लान्टबाट उत्पादन भएको ग्यास त्यस क्षेत्र वरपर रहेका विपन्न परिवारलाई वितरण गरिने जनाउँदै सामुदायिक पशु चौपाया व्यवस्थापनलाई दिगो राख्न पनि मद्दत पुग्ने बताए । नगरपालिकाका इञ्जिनीयर नवराज जोशीले आयोजनाको सम्झौता अगामी माघ महीनामा भएको जनाउँदै चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि निषेधाज्ञाका कारण योजनाको काम लम्बिएको बताए । “हालसम्म ६० देखि ६५ प्रतिशत काम सम्पन्न भएको छ । अझै म्याद थप गरेर आयोजानको काम अगाडि बढ्छ”, उनले भने, “निर्माण सम्पन्न भइसकेपश्चात् सामुदायिक पशु चौपाया व्यवस्थापन समितिमार्फत् प्लान्ट सञ्चालनमा ल्याइने छ ।”

अहिले पनि सो क्षेत्रमा ४०० देखि ५०० सामुदायिक पशु चौपाया व्यवस्थापन गरिएको छ । सामुदायिक पशु चौपायबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ । उक्त प्लान्टबाट उत्पादन भएको मलमूत्रबाट ग्यास उत्पादनका साथै प्राङ्गारिक मल उत्पादन योजनासमेत बनाइएको छ । उक्त प्लान्टबाट उत्पादन भएको बायोग्यास पहिलो चरणमा ५५ घरधुरीलाई २४सै घण्टा वितरण गरिने जनाइएको छ । रासस

प्रतिक्रिया