प्रतिनिधि सभाको खाली चार पदमा कहिले होला उपनिर्वाचन ?

काठमाडौं । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववतः अवस्थामा फर्किए । नेकपाको आधिकारिकता ऋषि कट्टेलले पाउने तथा एमाले र माओवादी केन्द्र २०७५ जेठ २ गते कै अवस्थामा फर्किने अदालतको फैसलापछि दुबै पार्टीले पूर्ववत अवस्थामै गतिविधी अघि बढाए ।
अदालतको फैसलापछि दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपनि माओवादीका केही नेता एमाले मै रहने निष्कर्षमा पुगे । जसमा केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि समेत थिए । राष्ट्रिय सभा सदस्य रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्काले माओवादी छोड्दा माओवादीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चार जना नेताले पनि माओवादीबाट अलग्गिने निर्णय गरे ।
नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले माओवादी पार्टी छाडे । त्यतिबेला उनीहरु एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री थिए । टोपबहादुर रायमाझीले उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्दा प्रभु साहले सहरी विकास मन्त्रालय, लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र गौरीशंकर चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा थिए । माओवादीका अन्य नेताहरुले भने उनीहरुलाई मन्त्रीको लोभमा पार्टी परित्याग गरेको आरोप लगाएका थिए ।
आफु निर्वाचित दल छाडेर एमाले प्रवेश गरेका उनीहरुलाई माओवादीले राजनीतिक दल सम्वन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ को ख बमोजिम सांसद पदबाट हटायो । ऐनको सो दफामा निजले अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिने उल्लेख छ । सोही प्रावधानमा टेकेर माओवादीले केन्द्रले उनीहरुलाई कारवाही गदै सांसद पद खोस्ने निर्णयमा पुगेको हो ।
माओवादीले सांसद पद रिक्त गराएका नेताहरुलाई ओलीले गैह् सांसदकै रुपमा मन्त्रीपरिषद्मा दोहोराए । पछि ओली आफु समेत संसदको ठूलो दलको हैसियतमा पूनः प्रधानमन्त्री नियुक्त भए । त्यसपछि पनि उनले माओवादी केन्द्र छोडेका यी नेतालाई मन्त्रीमा दोहोर्याए ।
तर जेठ ६ गते अदालतले त्यसरी पटक पटक गैह्र सांसद रहेका नेतालाई मन्त्रीमा नियुक्त गर्न नमिल्ने भन्दै अन्तरिम आदेश दियो । त्यसपछि एकैपटक माओवादी केन्द्र छोडेर मन्त्री बनेकाहरु ७ जनाको पद गुम्यो ।
त्यसमा संसद पद गुमेका रायमाझी, साह, भट्ट र चौधरी समेत थिए । उनीहरुको सांसद पद माओवादी केन्द्रले गत चैतमै रिक्त गराईसकेको थियो । त्यसयता उनीहरुले प्रतिनिधित्व गदै आएका स्थानमा सांसद पद रिक्त छ ।
सांसदको पद रिक्त भएसँगै अबको निकास उपनिर्वाचन नै हो । निर्वाचन आयोगले आफ्नो अनुकुलमा उपनिर्वाचनको मिति तोकर चुनाव गराउन सक्ने ऐनमा व्यवस्था छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ मा भने खाली पदमा ३५ दिनभित्र उपनिर्वाचन मार्फत पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार माओवादी छाडेर एमाले प्रवेश गरेपछि रामबहादुर थापा र चन्द्र बहादुर खड्काको स्थानमा उपनिर्वाचन भइसकेको छ । तर प्रतिनिधि सभामा भने स्पष्ट व्यवस्था छैन ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ मा उपनिर्वाचन सम्वन्धी व्यवस्था छ । जसमा भनिएको छ, –‘दफा ६ मा जुनसुकै कुरा लेखिएको भए तापनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’
आयोगको तयारी
उपनिर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोग भने पर्ख र हेरको अवस्थामा छ । पार्टीले हटाएपछि अदालत जाने र अदालतबाट पार्टीको निर्णय बदर गराउने नजिर स्थापित भएपछि आयोगले पर्ख र हेरको रणनीति अपनाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ कानूनी प्रक्रिया लगायत विषयमा अध्ययन भइरहेको बताउँछन् । कतैबाट पनि उपनिर्वाचन हुन नरोकिने स्थिति एकिन भएपछि मात्र आयोगले मिति तोक्ने उनको भनाई छ ।
पद रिक्त भएको अवस्थामा स्थानीय तहका वडाध्यक्ष देखि प्रतिनिधि सभाका सदस्यसम्मको उपनिर्वाचन गरी पदपूर्ति गर्नै व्यवस्था छ । तर आयोग स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन गराउने पक्षमा देखिएको छैन । स्थानीय तहका जनप्रतिनिधिको पदावधी अब एक वर्ष पनि नभएकाले आयोग उपनिर्वाचन नगराउने मनस्थितिमा पुगको हो । प्रदेश र संघमा भने करिब डेढ वर्ष बाँकी भएकाले उपनिर्वाचन गराएर पदपूर्ति गर्ने आयोगले जनाएको छ ।
प्रतिनिधि सभामा अहिलेसम्म ४ जनाको स्थानमा मात्र उपनिर्वाचन गराउनुपर्ने देखिएको छ । तर प्रदेशमा भने कति पद रिक्त छ भन्ने आयोगलाई अझै जानकारी छैन । आयोगका पदाधिकारीलाई सोध्दा तथ्याङ्क पठाइदिन सम्वन्धित प्रदेशमा पत्र पठाइसकेको बनिबनाउ जवाफ दिने गर्छन् ।यस अर्थमा पनि आयोग तत्काल उपनिर्वाचन गराउने पक्षमा देखिएको छैन ।
उपनिर्वाचनको खर्च लगायत व्यवस्थापनको पाटो संम्हाल्ने सरकार भने अहिले सत्ता जोडघटाउ मै व्यस्त छ । कांग्रेस सभापति शेरबहादुरद देउवा नेतृत्वमा गत असार २९ गते नै नयाँ सरकार बनेपनि अझै पूर्णता पाउन सकेको छैन ।
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
प्रतिक्रिया