शनिबार, माघ १७, २०८२

प्रधानमन्त्रीको सचिवालयले बनाएको भिडियोप्रति कांग्रेसकै नेता असन्तुष्ट, तत्काल वन्द गर्न आग्रह

मेरोन्यूज २०७८ साउन २२ गते ८:३६

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै उनको सचिवालयले सार्वजनिक गरेका भिडियोहरुप्रति कांग्रेसकै नेताहरुले आपत्ति जनाएका छन्।

महामन्त्रीदेखि प्रवक्तासम्मले यो कार्य तत्काल रोक्न प्रधानमन्त्री देउवाकाे सचिवालयको ध्यानाकर्षण गराएका हुन्।

केही दिनदेखि ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने‍‍‍ ‘….’ शीर्षकमा प्रधानमन्त्री देउवाको सचिवालयले विभिन्न भिडियो सामग्री सार्वजनिक गरेको थियो।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको सचिवालयको यो कार्यलाई गाइजात्राको संज्ञा दिंदै रोक्न आग्रह गरेका छन् ।

खड्काले ट्विटरमा लेखेका छन् , ‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरि जनताकाबीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडियो गाई जात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु ।’

यस्तै प्रवक्ता विश्वप्रकाश शर्माले पनि प्रधानमन्त्री देउवाको प्रशंसा गर्दै भिडियो सामग्री बनाउने र सामाजिक सञ्जालमा राख्ने काम बन्द गर्न सचिवालयको ध्यानाकर्षण गराएका छन्।

उनले अहिले काम गर्ने बेला भएको बताउँदै राम्रो काम गरे जनताहरुले नै भिडियो बनाउने बताएका छन्।

शर्माले लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला पहिले फूल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ।’

प्रतिक्रिया