वर्षौंपछि खानेपानीको समस्या हट्यो, स्थानीय फुरुङ्ग

सिन्धुली । बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने तीनपाटन गाउँपालिका–१ छरछरेवासीको बाध्यता अन्त्य भएको छ । पुस्तौंदेखि खानेपानीको अभावमा जीवनयापन गर्दै आएका छरछरेवासी यतिबेला घर नजिकैको धारामा पानी आउँदा हर्षित भएका छन् ।
विगतमा पानीको पालोमा कुवा तथा पँधेरामा बास बसेर एक गाग्री पानीको जोहो गर्न पनि दिन–रात बिताउनुपर्ने बाध्यतामा रहेका छरछरेवासीलाई वडा तथा गाउँपालिकाको पहलमा नेपाल स्वास्थ्यका लागि पानी नेवाले लिफ्टबाट खोनेपानी पुर्याइदिएपछि खानेपानीको सुविधा मिलेको हो ।
पिउने पानीको जोहो गर्दै वर्षौं बिताएका नागरिक यतिबेला आँगनको धारामा पानी थाप्न पाउँदा उनीहरुमा खुशीको सीमा छैन । स्थानीय सरकारको पहलमा धारामा पानी थाप्न पाउँदा बल्ल सरकार भएको अनुभूति गर्न पाएका छन् ।
“एक छाक खाना बनाउन र धित मर्ने गरी पिउने पानीको हाहाकारमा जीवन गुजारा गर्दै आएका थियौं”, स्थानीयवासी मनमाया कार्कीले भनिन्, “हिजो हिलो निचोरेर पानी खान्थ्यौं, कुवामा झगडा पर्दथ्यो, कुवामा नै दिनरात बिताएर एक गाग्री पानीको जोहो गर्दथ्यौं ।”
यसअघि प्लान नेपालले सिमेन्टको घ्याम्पो निर्माण गरिदिएको थियो । घ्याम्पोमा बर्सातका बेला जम्मा भएको पानीले वर्ष दिनलाई पुर्याउनुपर्थ्यो ।
उनले भनिन्, “छानाको पानी लगेर घ्याम्पोमा जम्मा भएपछि खानेपानीमा ताल्चा लगाएर राख्ने गरेका थियौं, यसले हामीलाई राहत पुर्याएको थियो, अहिले घरै नजिकको धारमा २४सै घण्टा पानी आउँदा स्वर्गको अनुभूति गर्न पाएका छौं ।”
विगतमा पानी पर्याप्त नहुँदा नुहाउने र लुगा धुने व्यथा यतिबेला कथा बनेको स्थानीयवासी रुद्रबहादुर खड्काले बताए ।
“मानिस र पशु दुवैले धित मर्ने गरी पानी पिउन पाएका थिएनौं, यति मात्र होइन, हाम्रा गाउँमा छोरी दिन पनि मान्दैन थिए, विवाहजस्ता कार्य गर्दा खोला धाउनुपर्थ्यो, यस्तो अवस्थामा रहेका हामीलाई नेवाले खानेपानी ल्याइदिएपछि स्वर्गानुभूति भएको छ”, उनले भने, “हिलो निचोरेर आउने धमिलो पानीले श्वास अल्झाएका हामी यतिबेला धारामा पानी थापेर वर्षौंदेखि नमरेको धित मार्न पाएका छौं, खानेपानीले सुविधासम्पन्न भएका छौं ।”
लामो समयदेखि पानीको समस्या झेल्दै आएका नागरिकलाई केही गैरसरकारी संस्थाले खानेपानी जोहो गर्नका लागि सिमेन्टको घ्याम्पो बनाइदिएका थिए ।
आकाशबाट परेको पानी घरको बलेसीबाट सङ्कलन गरी घ्याम्पोमा सङ्कलित पानीले वर्ष दिन बिताउनुपर्ने बाध्यता थियो तर यतिबेला वडा कार्यालयको पहल र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को साझेदारीमा सोलार लिफ्ट प्रविधिबाट सबैलाई पानी वितरण गरिँदै आएको वडाध्यक्ष गोविन्द राउतले जानकारी दिए ।
वडामा जनप्रतिनिधि आएपछि छरछरे, चिसापानी, हात्तीसार, क्वान्द्रे, भुकुने, नेपाले शिखरलगायतका स्थानमा वर्षौंदेखिको खानेपानी समस्या यस वर्षबाट समाधान भएको उनको भनाइ छ । यसबाट १०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् ।
डोकोमा गाग्री बोकेर घण्टौंपछि घर आउने स्थानीयवासीको यतिबेला पानीका लागि खर्चनुपर्ने समयको बचत भएको उनले बताए । बेलघारी–१ निवासी सयौं घरपरिवारले यतिबेला स्वच्छ पिउने पानी पाएको उनले बताए ।
“पानी स्वास्थ्यका लागि अतिआवश्यक हो, त्यहाँको समस्या हामी आएको केही वर्षपछि विभिन्न निकायसँग पहल गरेर समाधान गरेका छौं”, उनले भने ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया