कथा
झझल्को

सधै आउने समयभन्दा अलि ढिलो गरी घर फर्केका श्रीमानलाई तातो चिया बनाएर ठिक्क परेर “वेलकम डियर” भन्दै घरको ढोका उघारे । दिनभरको अफिसको कामले थकित बनाएको उहाँको अनुहार मलिन लाग्यो । मैले के भो भन्न नपाउदै फ्रेस हुन बाथरुम छिर्नुभयो । म पनि भान्सामा पसे, बेलुकीको खाना तयार पार्न । बाथरुमबाट सिधै भान्सामा छिरेर हामी संग संगै खाना तयार गर्ने एउटा रुटिन जस्तै बनेको छ । उसो त एक अर्काको मनपर्ने खानेकुरा बनाउने अघोषित प्रतिस्प्रर्धा नै बन्छ ।
बेलुकी मस्यौराको सुप र चिप्लेभण्टाको अचार अनि तोरीको साग पकाउने तयारी गरेकी थिए । उहाँले तोरीको साग केलाउदै हुनुहुन्थ्यो । केही नबोली नबोली काम गरेको देखेर मैले पनि उहाँलाई अफिसको केही कामले तनावमा भएको महशुस गरेरै “हैन के भयो आज हजुरलाई ?” सोधे ।
जवाफमा “ नाई केहि भएको छैन ” भन्दै छोटो उत्तर दिनुभयो । बोल्न नचाहेको जस्तो लाग्यो । थप मैले पनि केहि सोधिन, “ए ” मात्रै भने । निकैबेरको मौनता पछि उँहाले नै मधुरो स्वरमा “ आस्था ”। भन्दै मेरो मुखमा हेर्नुभयो । “भन्नु न ”। मैले उहाँलाई धाप मार्दै सहज महशुस गराउदै बोले ।
“तिमीसंग एउटा सिरियस कुरा गर्नुछ ।”
“कस्तो सिरियस कुरा भन्नु न, किन अनकनाएको । ”
उहाँ निकै दोधारमा भएको अनुमान लगाउन मलाई गाहे भएन । एकछिन पछि लामो सास तानेर “मबाट एउटा गल्ती भयो आस्था । के मलाई माफ गर्न सक्छयौ ?” निकै मलिन स्वरमा भूँईतिर हेर्दै भन्नुभयो ।
“पैला के भयो भन्नु न मैले माफि दिनुपर्ने गरी के गर्नुभयो त्यस्तो ?” मलाई कौतुहलताले आहत बनायो । उँहाको अनुहारमा बिनम्रताको भेल बगे जसरी नरम बन्दै निरीह देखिनुभयो । मैले सक्दो ढाडस दिदै खास कुरा जान्न चाहे ।
उँहाले आफ्नो पृष्ठभुमि भन्दाखेरी नै मेरो विश्वासको बाँध फुटिसकेको थियो । तैपनि उँहाका प्रत्येक शब्द भन्दा भाव मात्रै बुझेकी थिए । उँहाले भनेका एक एक शब्दले मेरो मनमा गहिरो चोट दिदै थिए ।

अब उँहाले आफ्नो निर्णयमा मेरो सहयोगको अपेक्षा राखेको सुनाउँदा मेरो आफ्नो बिगत फिल्मको रिल झै दिमागमा घुमिरह्यो । स्नातक तेश्रो वर्षको बिद्यार्थी थिए, वार्षिक परिक्षा नजिकिदै थियो । कलेजमा आन्दोलन चलिरहेकोले कोर्स सकिएको थिएन । त्यसैले मुख्य अप्ठ्यारो विषयको मैले ट्युसन पढ्थे । बेलुकी ट्युसन हुन्थ्यो, अरुबेला घरमा म खाली नै हुन्थे ।
एकदिन ट्युसन सकेर घरमा फर्कदा दुईचार जना नौला मानिस आएका थिए । “बिहेको कुरा गर्न आएका । ” आमाले सुनाउनुभयो मलाई । म भन्दा जेठी दिदी अविवाहित भएकोले म सेफ साइडमै थिए । “केटाले के गर्ने अनि के कति पढेको रैछ ?” भन्दै आमा लाई जिज्ञासा राखे । आमाले “स्थायी सुब्बा रैछ, पढ्दै पनि छ रे डिग्री । ” आमाले उक्त केटाको बारेमा जानेको जति बताउदै हुनुहुन्थ्यो । “अनि घर कता रै छ त आमा ? ” उहाँले “पारी नयाँ गाँउ रे ” भन्दै चिया गिलासमा खन्याउनुभयो । अनि ट्रे मलाई थमाइदिदै पाहुनालाई लगिदिन भन्नुभयो । मैले दिदीलाई नै पठाउनु न भने । “तैँलाई हेर्न आ’का । ” भन्दै बाहिरिनुभयो ।
म भन्दा केहि वर्षले ठुली दिदीको एउटा आँखाको दृष्टि अलि राम्रो छैन । बाँकी रुप, घरपरिवार प्रतिको जिम्मेवारी, बोली बचन र व्यवहारमा अब्बल हुनुहुन्थ्यो । तरपनि बिहे हुन सकेको थिएन । धेरै केटा आउथे, निर्णय पछि गरौला भन्दै फर्कन्थे । निर्णय कहिल्यै आँउथेन । यस्ता घटना धेरै पटक दोहोरीसकेको थियो । अब त दिदी आफैले “मैले बिहे गर्दिन बैनीको गर्दिनुहोस् ” भन्न थाल्नुभएको थियो ।
यसपाली आएका मान्छे मेरो लागि आएका रैछन । पहिला दिदीलाई हेर्न आउने मान्छेहरुसंग कहिले पनि डर लाग्थेन । उनिहरुलाई मैले नै चिया लगिदिदा पनि हात कहिल्यै काँपेको थिएन । तर अहिले चिया समातेका हात लगलग काँपेर ट्रे अनि गिलासको चिया पोखिएला जस्तो भयो । कान राता पिरा भएर केहि सुन्नै सकिन, डम्म बन्द भए जस्तो भयो । अगाडिपटिृको कोठामा जाने बाटो समेत धमिलो लाग्यो ।
“नानी ! चिया सेलाउला । छिटो ।” भन्दै आमाले बोलाएको ननिको लाग्यो । तैपनि खै कुन शक्ति ले डो¥यायो कुन्नि पाहुनालाई चिया दिन गए । फरक्क फर्कनुको साटो “नानीको जाँच कैले रे ?”एक अधवैशेले सोधेको प्रश्नलाई सामना गरे । “अर्को महिनामा ।” छेउमा लजाउदै बसेको केटोले लजाउदै मैलाई हेरेको मेसो पाए । धेरैबेर त्यहाँ उभिन मन लागेन फर्किए किचनमै ।
दिदी आफ्नो कोठामा स्कुलको कपि चेक गर्दै हुनुहुन्थ्यो । म पनि उतै लागे सबै कुरा सेयर गथ्र्यौ हामी । तर आज उहाँसंग म केहि बोल्नै सकिन । उहाँले पनि माहोल लख काटेको हुनुपर्छ । त्यसैले चुपचाप कपि चेक गरिरहनुभयो । म आफ्नो बिस्तारामा पल्टेर सिरकले गुटमुटिए । दिमागमा लाखौं विचारको बाढी आयो । त्यो बाढीले कुनै विचार बगाएर लगेको थियो त कुनैलाई पन्छाएर अघि बढेको थियो । त्यसैक्रममा मैले उक्त मान्छे संग बिहे गर्दा र नगर्दाको सम्भावना र चुनौती लाई मनले तौलिए ।
निकै बेरमा ति मान्छे बिदाबारी भएको थाहा पाए । उनिहरु फर्किसकेपछि दिदी किचनतिर पस्नुभयो भने बुबाआमा मेरो कोठामा छिर्नुभयो । मेरो छेउमा बस्दै आमाले मैले ओढेको सिरक तान्दै पटृाईदिनुभयो । अनि लामो सुस्केरा हाल्दै मेरो टाउको सुम्सुमाउनु भयो । “नानी आज हामिलाई निकै गह्रुगो व्यवहारले थिच्यो । तैँले बुझिसकिस होला । एक त छोरीको बिहेको निर्णय हरेक बुबाआमालाई लिन गाहे हुन्छ । त्यसमाथि हामीलाई जेठी छोरीको बिहे नहुदै कान्छिलाई अन्माउने अप्ठ्यारो अवस्था आईपरेको छ ।
आमाको आवाज बिचैमा काट्दै मैले “दिदीको बिहे नहुदै मैले बिहे गर्दिन आमा” भने । बुबाआमा आपसमा हेराहेर गर्दै एकछिन चुप हुनुभयो । कोठामा सन्नाटा छायो । मैले थपे, “फेरी दिदीको बिहे नहुदै मेरो बिहे हुनु भनेको उहाँको बिहे अब कहिल्यै नहुनु हो । मेरो बिहेले उहाँलाई बिहे गर्ने बाटो झन कठिन बनाउनेछ । त्यसैले मैले बिहे गर्दिन । मेरो उमेर पनि बितेको छैन । मलाई अहिले बिहेको लागि कर नगर्नुहोस । ”
पटृाएको सिरक तानेर पल्टिए म । दिदी पनि कोठामा आउनुभयो । मलाई दिदीको डर लागेको थियो । आफ्नो बिहे नहुदै आफुभन्दा सानी बैनिको बिहेको कुरा चल्दा एक अविवाहित दिदीले कसरी आफुलाई सम्हाल्न सक्छ ? आफु एक हिसाबले फेलियर भएको स्विकार्ने असहजतालाई कसरी व्यवस्थापन गर्छ होला ? अनि आफु बिवाह बन्धनमा बाँधिने कल्पनालाई असम्भव जस्तो बनाईदिने बिहे र त्यसपछिको हामी बिचको दुरी कस्तो होला भन्ने सम्झेरै म दिदीको सामना गर्न नसक्ने हालतमा थिए । मेरो जस्तै दिदीको पनि हरेक पटक केटा हेर्न आउदा उ संग वैवाहिक जीवनका पाटाहरु कोरिएका हुँदाहुन । ती सबैलाई तिलाञ्जली कसरी दिनुहोला आदि इत्यादी ।
मेरो अनुमान विपरित दिदीले मलाई सम्झाई बुझाई गरेर बिहेको लागि तयार पार्नुभयो । उहाँले भनेको सबैभन्दा मन परेको वाक्य “विवाह बन्धन मात्र होइन अवसर पनि हो, यसलाई सदुपयोग गर्न सिक । ” दिदीले खै के अर्थमा भन्नुभयो कुन्नि । मैले यसलाई सकारात्मक रुपमा लिए, अनि भोलिपल्टै बिहेको लागि ओके गरिदिए । यसरी दिदीको अग्रसरताले मेरो बिहे भयो । कतिपयले दिदीलाई बैनिको बिहेको लागि मार्ग प्रशस्त गराईदिएकोमा महान अनि मेरो श्रीमानलाई दिदी छोडि बैनि ताक्ने पनि भने । यद्यपि हाम्रो अगाडि कसैले यस विषयमा कुरै उप्काएनन । एक हिसाबले ब्रेकथ्रु थियो त्यो हाम्रो विवाह । दिदी छोडी बैनिको कन्यादान गरिदिए बुबाआमाले । दिदीको वैवाहिक चिन्तन करिब करिब टुङ्गियो, भलै झिनो सम्भावना जहाँ पनि रहन्छ ।
हाम्रो बिहे पछि पनि दिदीबैनी बिचको सम्बन्धमा फाटो आएन । उहाँले आफ्नो बिहेको रहर मैले गर्दा खोसिदिएको जस्ता व्यवहार गरेको कहिल्यै महशुस भएन । बरु म माईतीबाट घर फर्कदा उहाँले नै कोशेलीपात बनाईदिने आदि गर्नुहुन्थ्यो । अनि मेरो श्रीमानले पनि उहाँलाई खुब आदर गर्नुहुन्थ्यो । वास्तवमा हामिले बिहे गर्ने निर्णय सहि रहेको बेला बेलामा सम्झन्छु ।
कतिबेर टोलाएछु कुन्नी, किचन वरीपरीको भित्ता भाँडाकुँडा सबै घुमेको देखिराखेको थिए । छेउमा भएको लिभिङ रुमको सोफामा लगेर म थचक्कै पल्टेको रहेछु । श्रीमानले किचनबाट पानी ल्याएर पिलाउनुभयो । चिसो पानी खाएपछि बल्ल म बर्तमानमा फर्के । त्यस्तो बिछटृै मन पराइएर दिदी हैन बैनि भनि भनि बिहे गरेको । बिहे पछिका यी केहि वर्षमा पनि कुनै मनमुटाव, विवाद या वैमनस्य सम्म पनि नभएको मेरो दाम्पत्य जिवनमा अचानक बज्रपात आईलागेको थियो । चौबिसै घण्टा फोन सम्पर्कमा रहने हरेक कुरा सेयर गरिहाल्ने श्रीमतीको विकल्प मेरो श्रीमानले खोजेको कुरा सम्झिदा सारा लोग्नेमानिस प्रति दया भाव लाग्यो । भावशुन्य भयो ।
बुढालाई मनपर्छ भन्दै पकाउन लागेका तरकारी असरल्ल थिए । अझै उछिट्याइदिउँ झै लागेको थियो । मन भित्रको आगो झन दनदनी बल्दै थियो । मनभरी कहिल्यै नआएका विध्वंशात्मक उर्जा उम्लिएर आयो ।
“वास्तवमा आस्था मलाई असाध्यै हिनताबोध भएको छ । म प्रतिको तिम्रो विश्वास र आस्था प्रति म कायल भएको छु । संगसंगै मैले तिमीप्रति अन्याय होइन महापाप नै गरे सरहको अपराधबोध गरेको छु । मलाई तिमीले जे सजाँय दिन्छौ त्यो मलाई स्विकार्य छ । बहु विवाहको मुद्धामा वर्षौवर्ष जेलमा सडाउने अधिकार पनि छ तिमीलाई । ” एकोहोरो के के बोलेको हो उहाँ मैले केहि बुझ्न नपाउदै थप उहाँ भन्दै हुनुहुन्थ्यो । “ जब मैले तिमीलाई बिहे गरेर आफ्नी बनाए, मलाई असाध्यै खुसि र गर्व लाग्थ्यो तिमीप्रति । पहिलो पटक मेरो हरेका कुरामा अधिकार जमाउने मान्छे पाए । तिमी संगको सानिध्यताले मलाई नौलौ उत्साह, उमंग र सकारात्मक उर्जाको महशुस गर्थै । तिमीलाई श्रीमती भनेर चिनाउन पाउदा असाध्यै खुसि हुन्थे । ”
गिलासको पानि पिएर उहाँले मेरो अनुहारमा नहेरी थप भन्दै हुनुहुन्थ्यो “ तर मलाई हरेक पटक ससुराली जाँदा जब तिम्रो दिदी देख्थे मलाई आत्मग्लानी हुन्थ्यो । मेरो कारणले कसैको आफ्नो वैवाहिक अधिकारको अवसर कमजोर भएको थियो । हाम्रो बिहे पछि कसैले उहाँलाई बिहेको प्रस्ताव राख्दैनथ्यो । उहाँका पनि केहि चाहना थिए होला । आदि कुराले म उहाँ प्रति साह्रै संवेदनशिल र भावानात्मक रुपमा नजिकिएछु । पछि हामी बिच ज्वाँइ र दिदीसासु को नाता मात्र रहेन आस्था । यो कुरा मैले तिमीसंग समयमै सेयर गरेको भए अैलेकोे यस्तो दुर्घटना टथ्र्याे होला । मलाई पश्चातापको पहाडले थिचेको छ । ” आदि इत्यादी भन्दै सुँक्क सुक्क गरेको सुने । मेरो टाउको फुट्ला जसरी दुखेको थियो ।
मलाई कहिल्यै झझल्को समेत नभएको कुरा मैले भोग्नुपर्ने र्दुदशा कस्तो आइलाग्यो हे भगवान भन्दै पुकारा गरी मन्दिरमा घण्टी बजाउदै थिए ।
टिङ….. टिङ ……. टिरीङ……..गरी अर्लाम पो बजेको रहेछ । हेर्छु छेउमा श्रीमान निस्फिक्री सुतिराख्नुभएको छ । हत्तेरी कस्तो नराम्रो सपना देखेछु मैले । अर्लाम बन्द गरेर फेरी सुते ।
प्रतिक्रिया