कांग्रेसका केन्द्रीय सदस्यको बढी चासो क्रियाशील सदस्यतामा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुको चासो क्रियाशील सदस्यतामा केन्द्रित रहेको देखिएको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारदेखि जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यतामा केन्द्रित भएर आफ्ना धारणा राखेका थिए । बैठकमा उनीहरुले आफ्नो जिल्ला, क्षेत्र र वडाका क्रियाशील सदस्यतामा देखिएका विवाद तथा समस्या बारेमा अवगत गराउनुभएको केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए । यसबाहेक बैठकमा केन्द्रीय सदस्यहरुले आगामी भदौमा १४औँ महाधिवेशन हुनुपर्ने, महाधिवेशन मङ्सिरमा गर्नुपर्ने, कोभिड–१९ का कारण महाधिवेशन गर्न नसकिने, महाधिवेशन गर्ने अन्य बैकल्पिक उपाय र जनजीविकालगायतका विविध विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कांग्रेसले केन्द्रीय सदस्यको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गत स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
बिहीबार शुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो भने अन्य नौ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नुभएको थियो ।
आजको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्ना शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह लामा, जङ्गीलाल राय, रामजनम चौधरी, हेमराज तातेड र केन्द्रीय आमन्त्रित सदस्यहरु हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीले आआफ्नो धारणा राखेका थिए ।
केन्द्रीय कार्यसमितिको बैठक भोलि साउन ३० गते दिउँसो २ बजे सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।














सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया