स्थानीयको सक्रियतामा लिफ्टमार्फत खानेपानी

गलकोट । बागलुङ नगरपालिकाको बजार क्षेत्र भित्रै खानेपानीको चरम अभाव खेप्दै आएका उपल्लो पाखाथरका ५० घरमा खानेपानीको सहज सुविधा पुगेको छ ।
लामो समय देखि बत्ती मुनीको अध्यारो जस्तै बनेर खानेपानीको समस्या भोग्दै आएका उपल्लो पाखाथरका स्थानीयले आफैँ जागरुक भएर खानेपानी योजना सम्पन्न गरेका छन् । यसमा बागलुङ नगरपालिकाले पनि सहयोग गरेको थियो ।
योजना नबन्दासम्म स्थानीयले कुवा र मुलको पानीमा निर्भर हुनुपर्ने बाध्यता थियो । तर, अब यस्तो बाध्यता लिफ्ट खानेपानी आयोजना सम्पन्न भएसँगै सकिएको स्थानीय उपभोक्ता बताउँछन् ।
स्थानीय उपभोक्ताले १५ लाख सङ्कलन गरी खत्रीबारीमा ७५ हजार लिटरको खानेपानी ट्याङ्की निर्माण गरेका थिए ।
पधेराघरको पानीलाई एक सय मिटर माथी खत्रीबारीमा लिफ्ट प्रविधिमार्फत लगेर ५० घरमा एक घर एक धारा निर्माण गरेका छन् ।
योजना सम्पन्न भए पछि सोमबारदेखि घर घरमै खानेपानी पुगेको सामुदायिक खानेपानी तथा उपभोक्ता संस्था उपल्लो पाखाथरका अध्यक्ष कुमार विक्रम क्षत्रीले जानकारी दिए ।
क्षत्रीका अनुसार योजनाको पाइप लाइन विस्तारका लागि भने बागलुङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा आठ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
“२०३८ सालमा जुरेढुङ्गाको मुलको पानी सामुदायिक धारामार्फत् खाने गरिन्थ्यो, अहिले त्यहाँबाट सानो पानी आउँछ, खानेपानीको अभाव झेल्दै आएका स्थानीयले उपल्लो पाखाथर टोल विकास संस्थामा आवद्ध भइ नयाँ घरले ४१ हजार र पुरानो घरले २६ हजार सङ्कलन गरी १५ लाख जुटाएर लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न लागेका थियौ”, क्षत्रीले भने “प्राविधिक सहयोग गर्दै आएको नगरपालिकाले ८ लाख बजेट विनियोजन गरेपछि आयोजनाले सार्थकता पायो ।” उपल्लोपाखाथर बागलुङ नगरपालिका–३ र ४ वडामा पर्दछ ।
जिल्ला सदरमुकामबासी भएर पनि पुरानो पानीकोे मुहान सुक्दै गएपछि कुवाको पानीमा निर्भर बन्नुपर्ने अवस्थाको अन्त्य भएको र घरमै खानेपानीको धारा आउँदा स्थानीयमा खुशी छाएको उपभोक्ता धन बहादुर जिसी बताउँछन् ।
बस्तीभन्दा मुहान तल भएका कारण एक सय मिटरको उचाईमा पम्पमार्फत खानेपानी पुर्याएर घर–घरमा वितरण गरिएको बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिए ।
“उपभोक्ताकै सक्रियतामा खानेपानी निर्माण भएको हो, नगरपालिकाले प्राविधकि सहयोग गरेको थियो, गत वर्ष नगरपालिकाले खानेपानी आयोजना सार्थकता दिन ८ लाख रुपैयाँ विनियोजन गरेर काम सम्पन्न भएको छ”, इन्जिनियर शर्माले भने, “मुहानको स्रोत कम हुँदा लिफ्टमार्फत खानेपानी पुर्याइएको हो, अहिले घरमा मिटर जडान सहितको धारो छ ।”
खानेपानी ट्याङ्कीबाट थप २५ घरमा खानेपानी वितरण गर्ने उपभोक्ता समितिको लक्ष्य छ । पन्ध्र लाख सामुदायिक खानेपानी समितिबाट संकलन गरे पनि नगरपालिकाको ८ लाखको काम भने उपल्लोपाखाथर लिफ्ट खानेपानी आयोजनामार्फत सम्पन्न गरिएको निर्माण समितिका अध्यक्ष खिमराम ढुङगानाले बताए ।
खानेपानीको अभावमा त्यहाँका स्थानीयले बसाई सराई गर्दै आएका थिए भने त्यहाँ जग्गा खरिद भए पनि खानेपानीको अभावमा घर निर्माण कार्य रोकिएका थिए ।
पाँच मुललाई केद्रित गरेर मात्रै खानेपानी आयोजना सम्पन्न भएको छ । पच्चीस एमएमको पाइपमा जुरेढुङ्गाको मुहानबाट सोझै सङ्कलन ट्याङ्कीमा आएको छ भने पधेराघर, रिठाकोट सहितका कुवाको पानीलाई लिफ्टमार्फत् ४० एमएमको पाइपबाट माथी लगिएको हो ।
हिउँदको समयमा ४ घण्टा र बर्खाको समय ४ घण्टा मात्रै खानेपानी लिफ्ट गरेमा सबैलाई खानेपानी पुग्नेछ । खानेपानी उपभोग गरेवापत विद्युत महशुल र मर्मत सम्भारका लागि मासिक २०० उपभोक्ताले खानेपानी उपभोक्ता समितिलाई तिर्नुपर्ने प्रावधान बनाइएको छ ।
उपभोक्ताले आवश्यकता अनुसार घरमा धारो निर्माण गर्न सक्नेछन् । पचासमध्ये दुई वटा सामुदायिक धारासमेत निर्माण गरिएको छ ।
















ग्रीसमा तटरक्षक जहाज र आप्रवासी बोकेको डुङ्गा बिचको टक्करमा १५ जनाको मृत्यु
अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु,३ सय भन्दा बढी घाइते
नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया