कोरोनाविरुद्ध खोप लगाएका व्यक्ति तेस्रो लहरमा कति सुरक्षित ?
कोभिडविरुद्धको खोप लगाएका व्यक्तिहरूसमेत तेस्रो लहरमा संक्रमित हुन सक्ने

काठमाडाैँ । कोरोना भाइरस (कोभिड-१९) दोस्रो लहरअगाडि नै कोभिडविरुद्धको खोप लगाएका व्यक्तिहरूसमेत तेस्रो लहरमा संक्रमित हुन सक्ने चिकित्सकहरू बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले कोरोना खोप लगाएकाहरू संक्रमित हुँदै आएको बताए ।
डा. पुनका अनुसार यदि कोरोनाविरुद्धको खोप नलगाएको जो कोही पनि तेस्रो लहरमा संक्रमित हुने खतरा छ । उनले भने, ‘पहिलो लहरमा संक्रमण भएर निको भएकाहरूको समूह सानो छ, तर उनीहरू पनि संक्रमित भएको देखिन्छ ।’
अहिलेसम्म खोप नलगाएका र कोभिड संक्रमण नदेखिएकाले भने झनै सजकता अपनाउनु पर्ने डा. पुनको सुझाव छ । ‘खोप नलगाएका र अहिलेसम्म कोरोना संक्रमण नदेखिए अत्यन्त सजक हुनु पर्ने हुन्छ, हाम्रो शरीरमा रहेको एन्टिबडी कुन समयमा घट्छ भन्ने अहिलेसम्म अध्ययनकै क्रममा रहेकाले हामीले जनस्वस्थ्यको मापदण्ड पालना गर्न छोड्नु हुँदैन,’ उनले भने ।
खोपले शरीरमा कति समयसम्म संक्रमणविरुद्ध काम गर्न सक्छ भन्ने यकिन नहुँदा सुरुवातीमा खोप लगाएका व्यक्तिहरू तेस्रो लहरमा प्रभावित हुन सक्ने विभिन्न अध्ययनहरूले देखाएको छ । यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ देखि साउन ३० गतेसम्म १३ हजार १६१ जनामा गरेको ‘सेरो प्रिभिलेन्स सर्वे’मा ६८ दशमलव ६ प्रतिशतमा कोभिड एन्टिबडी देखिएको जानकारी दिएको थियो ।
उक्त सर्वेमा पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको थियो । अझै, एक डोज लगाएका २० प्रतिशतको शरीरमा एन्टिबडी नबनेको देखिएको छ । पूर्ण खोप पाएका १० प्रतिशत व्यक्तिमा पनि एन्टिबडी नबनेको देखिन्छ । नेपालमा हालसम्म एक करोडभन्दा बढीले कोभिडविरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाएका छन् । एक करोड ९२ हजार १६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । जसमा ५४ लाख २४ हजार ८३६ जनाले एक डोज लगाएका छन् । दुवै डोज नेपालमा ४६ लाख ६७ हजार ३२८ जनाले लगाएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २ हजारदेखि ३ हजारको बीचमा स्थिर छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मन्त्रालयले जारी गरेको सर्वेले पनि नेपालमा खोप लगाएका ९० प्रतिशतमा खोपले राम्रो काम गरेको देखिएको बताएका छन् । उनले अझै कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिवर्तन गरिरहेको हुँदा जोखिम कायमै रहेको बताए । ‘जोखिम कायमै छ, हामीले जनस्वास्थ्यको मापदण्ड भुल्न हुँदैन,’ उनले भने ।
वरिष्ठ फिजिसियन डा. संकेत रिसालका अनुसार कोभिडले अझै अध्ययनकै रुप लिएको छ । नेपालमा पहिलो लहरमा प्लाज्मा र रेम्डेसिभिरले राम्रो काम गरेको थियो । तर, दोस्रो लहरमा त्यसले खासै काम नगरेको अध्ययनले देखाएका उनले बताए । उनले भने, ‘खोप लगाएकाहरूमा कोरोना संक्रमण देखिएको छ, तर त्यति सारो जोखिम भने देखिएको छैन ।’
उनका अनुसार खोप लगाउनुभन्दा अघि संक्रमितले १५ दिन अस्पताल भर्ना हुनु परेको थियो भने दोस्रो लहरमा खोप लगाएकाहरू हप्ता दिनमा अस्पतालको बसाई छोटाएर निस्किएका छन् । ‘रोग आएपछि स्वास्थ्य मापदण्ड भने हामीले पालना गर्न छोड्नु भएन, डेल्टा भेरियन्टजस्ता भाइरसमा आइरहेको तीव्र उत्परिवर्तनको समयमा जोखिम उतिकै चुनौतिका रुपमा छन्,’ विज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपालस्थित खोप कार्यक्रमका डा. विनोद बुराले खोपमा समानता नभइरहेको अवस्थामा सबैलाई खोपको पहुँचमा पुर्याउनु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘अहिले विभिन्न कोरोनाविरुद्धका खोपहरू आएका छन्, जसमा कतिपयले ९५ प्रतिशतसम्म भन्दा कम काम गरेका छन् त्यसको पनि अध्ययन भइरहेको छ ।’
नेपालमा अहिले दिइरहेको खोपले राम्रो काम गरेको बुराको भनाई छ । उनका अनुसार पूर्ण खोप पाएकाले बुस्टर डोज लिनु पर्दैन । संगठनका अनुसार हाल प्रयोगमा आइरहेका खोपहरूले बलियो एन्टिबडी देखाएका छन् । संक्रामक रोग विशेषहरूका अनुसार प्रतिरोधात्मक क्षमता कमी आउनु सामान्य हो ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
प्रतिक्रिया