शनिबार, वैशाख २७, २०८२

तल्लो तहको प्रभाव नेतृत्वसम्म पर्छः नेता सिंह

मेरोन्यूज २०७८ भदौ १८ गते १०:१०

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताएका छन् ।

पार्टीको १४ औं महाधिवेशनको शुभकामना दिंदै उनले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गर्ने उल्लेख गरेका छन् ।

सिंहको शुभकामना सन्देश
नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन शुरू भएको छ । संगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ । लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यक्ता हो । राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो । काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । काँग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपिल गर्दछु ।
वडा अधिवेशन विधिसम्मत क्षमतावान नेतृत्व चयन गर्न सफल होस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।
स्वास्थ्य मापदण्ड पालना गरौं बाचौं र बचाऔं ।
जय नेपाल । प्रकाश मान सिह नेपाली कांग्रेस

प्रतिक्रिया