शनिबार, वैशाख २७, २०८२

कांग्रेस चितवनको सभापतिमा ८ जना प्रत्यासी

मेरोन्यूज २०७८ भदौ १९ गते १४:४३

काठमाडौँ । नेपाली कांग्रेस चितवनको सभापतिमा ८ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदै छ । जिल्ला समितिका लागि आगामी असोज १० गते निर्वाचन हुने छ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका हुन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वागमती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

कांग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागेका छन् ।

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ ।

हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुने छ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्य तालिका रहेको छ ।

जिल्लामा एउटा महानगरपालिका, पाँच वटा नगरपालिका र एउटा गाउँपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्य समिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुने छ ।

यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुने छ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया