शनिबार, वैशाख २७, २०८२

१९ वर्षीय कांग्रेस वडा सभापति स्वस्तिका भन्छिन् – नेतृत्वमा पाका हुनुहुन्छ, जोखिम मोलेर युवा आउनुपर्छ

मेरोन्यूज २०७८ भदौ २० गते १३:३०

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा दैलेख दुल्लु नगरपालिका ३ को वडा सभापति बनेको छु । पार्टीका मेरा अग्रजलगायत सबैको सहयोगले १९ वर्षमा वडा सभापति बनेको हुँ । वडा सभापतिमा निर्वाचित हुँदा निश्चय नै खुसी त लाग्ने नै भयो । यससँगै काँधमा राजनीतिक जिम्मेवारी थपिएको छ । अब मलाई काम गर्न सक्दिनँ भन्ने छुट छैन । राम्रो काम गरेर पार्टीलाई लोकप्रिय र बलियो बनाउने अठोट गरेकी छु ।

अब, म जिल्ला, प्रदेश वा केन्द्रभन्दा पनि वडा-नगर कांग्रेसलाई नै कसरी चुस्त दुरूस्त रुपमा अगाडि बढाउने भन्नेबारे केन्द्रीत हुनेछु । मलाई राजनीतिको कमाण्ड सम्हाल्ने अवसर र चुनौती दुवै छ । म बुवाको सपना पूरा गर्न राजनीतिमा लागेको हुँ । बुवा नेपाली कांग्रेस जिल्ला उपभापति हुनु हुन्थ्यो ।

म १७ वर्षको हुँदा बुवा बित्नु भयो । बुवा दिल्ली भ्रमणका लागि जानु भएको थियो । सोही बसाईमा डेँगु देखिएपछि दिल्लीमा उपचार हुँदै गर्दा मृत्यु भयो । बुवाले कांग्रेसमा भोक प्यास नभनी लाग्नु भएको थियो । कांग्रेस पार्टीमा देख्नु भएका सपना अधुरो नै रहेको सपना पूरा गर्न म राजनीतिमा आएको हुँ । कांग्रेसमा जोशिलो, फूर्तिलो र रहरलाग्दा युवाको प्रतिनिधित्व हुन अति आवश्यक छ ।

अहिले राजनीतिमा पाका नेतृत्व मात्रै रहनु भएको छ । अझै महिलाहरू नेतृत्व लैजाने बोलीमा मात्र सिमित छ । महिलालाई अवसर दिनुपर्छ । महिला कम छैन ।

अर्को युवाहरू जोखिम मोलेर भए पनि नेतृत्व लिनुअघि बढ्नु पर्ने बेला आएको छ । यदि, युवा मिलेको खण्डमा असम्भव भन्ने केही छैन । एकतामा बल हुन्छ । त्यो एकता, त्यो बलले सामाजिक न्याय र रूपान्तरण गर्न सम्भव छ ।

आफूले जस्तै आफ्ना समकालीन युवाहरू पनि राजनीतिमा आउन सुझाव दिन्छु ।

(दुल्लु नगरपालिका वडा नम्बर ३ को वडा सभापति महतसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया