मंगलबार, फागुन ५, २०८२

मन्त्रिपरिषद् निर्णयः दार्चुलाको छाङ्गरुमा सेनाको ब्यारेक बनाउने

मेरोन्यूज २०७८ भदौ २१ गते १९:०९

काठमाडौं । सरकारले दार्चुलाको छाङ्गरुमा सुरक्षाकर्मी बस्ने ब्यारेक भवन निर्माण गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले दार्चुलामा सेनाको ब्यारेक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, सोमवार बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय विपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार दिने निर्णय पनि गरेको छ ।

बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

यस्तै, बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करिब ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको पनि मन्त्री प्रवक्ता कार्कीले जानकारी दिए ।

यस्तै, अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै स्वास्थ्य क्षेत्र सुधारका लागि रु ४५ अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७८/०८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी तथा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले पूर्णता नपाएको भनी पत्रकारहरुले सोधेको प्रश्नमा भने कार्कीले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।

प्रतिक्रिया