दोब्बर भत्ता लिनेमा सञ्चार मन्त्रालयका कर्मचारी बढी

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि गठन गरिएको पदपूर्ति समितिका पदाधिकारी र कर्मचारीहरुले तोकेकोभन्दा बढी रकम भत्ता लिएको खुलेको छ ।
आर्थिक वर्ष २०७६/७७ को महालेखापरीक्षकको प्रारम्भिक प्रतिवेदनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको पदपूर्ति समितिले प्राधिकरणको अध्यक्षको लागि खुला आवेदनमार्फत पदपूर्ति गर्दा प्राधिकरणबाट भत्ता लिएको र त्यस्तो भत्ता कानूनले तोकेभन्दा बढी भएको खुलेको हो ।
दूरसञ्चार प्राधिकरणबारे महालेखापरीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा बढी भुक्तानी भएको बैठक भत्ता रकम फिर्ता गराउनुपर्ने महालेखाले जनाएको छ ।
तत्कालिन समयमा मन्त्रालयका सचिव महेन्द्र मान गुरुङको संयोजकत्वमा गठित समितिले तोकिएको भन्दा धेरै भत्ता लिएको र सो भत्ता प्राधिकरणबाट भुक्तानी गरिएको खुलासा भएको हो ।
महालेखाले कार्य सञ्चालन निर्देशिका २०७५ परिच्छेद सातको उल्लेख गर्दै संवैधानिक पदाधिकारी वा रा.प. विशिष्ट श्रेणीले अध्यक्षता गर्ने बैठकका पदाधिकारीलाई प्रति बैठक २ हजार रुपैयाँका दरले प्रदान गर्ने पर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।
दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदको नियुक्तिका लागि उम्मेदवार सिफारिस गर्न दूरसञ्चार ऐन २०५३ को दफा ५ को उपदफा २ बमोजिम गठित समितिमा संलग्न पदाधिकारी र अन्य कर्मचारीहरुले कार्य सञ्चालन निर्देशिका भन्दा बाहिर रही बैठक भत्ता लिएको र असुल गर्नुपर्ने उल्लेख गरेको छ ।
महालेखाको प्रारम्भिक प्रतिवेदनअनुसार गुरुङसँगै उमाकान्त पराजुली, सहसचिव राधिका अर्याल, उपसचिव शिव प्रसाद त्रिपाठीसहित पवनराज कोईराला, बन्दना श्रेष्ठ र सरोज पौडेलले दोब्बर पैसा लिनेमा पुगेका छन् ।
ती सबैले प्रति बैठक ४ हजार रुपैयाँको दरले २४ वटा बैठकको प्रति व्यक्ति ९६ हजार रुपैयाँ बैठक भत्ता लिएको देखिएको उल्लेख छ । जसमध्ये कर भुक्तानी बाहेक ८१ हजार ६ सय रुपैयाँ भुक्तानी गरिएको हो ।
यस्तो भुक्तानी रकम कुल ६ लाख ७२ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनले जनाएको हो ।
महालेखाको प्रारम्भिक तथ्यांकअनुसार त्यसमध्ये प्रति बैठकको अतिरिक्त लिएको २ हजार रुपैयाँ समितिका सबैले फिर्ता गर्नुपर्ने देखाईएको छ । यस्तो रकम कर बाहेक २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको देखिन्छ ।
तत्कालिन सञ्चार सचिव गुरुङ्ग हाल राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्तको रुपमा कार्यरत रहेका छन् भने तत्कालिन सहसचिव अर्याल बागमती प्रदेश सचिवको रुपमा कार्यरत छिन् । पराजुली सहसचिवबाट अवकाश भईसकेका छन् ।
यसका साथै सोहि प्रकृतिको अर्को बैठकका पदाधिकारी र कर्मचारीहरुले समेत सोहि प्रकृतिमा अतिरिक्त रकम लिएको उल्लेख छ ।
प्रारम्भिक प्रतिवेदनमा दूरसञ्चार नियमावली २०५४ को नियम २७ बमोजिम गठित समितिका पदाधिकारीहरु र कर्मचारीहरु देवेन्द्रराज ढकाल, लीलादेवी गड्तौला, ऋषिराम तिवारी, महेन्द्रप्रसाद साँखी, अनुप नेपाल, सन्तोष तिमल्सिनाले समेत प्रति व्यक्ति प्रति बैठक ४ हजार रुपैयाँ लिएको र सो मध्ये २ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ । जसअनुसार कुल ६८ हजार रुपैयाँ फिर्ता असुल गर्नुपर्ने भएको हो ।
ढकाल हाल न्यायपरिषद सचिवालयमा सचिव र गड्तौला हाल नेपाल कानून आयोगमा सचिव छिन् । तिवारी हाल सञ्चार मन्त्रालयबाट सरुवा भईसकेका छन् भने अन्य कर्मचारीहरु मन्त्रालयमै हाल कार्यरत छन् ।
सो नियमावलीअनुसार आवश्यकताको आधारमा पुनरावेदन समिति गठन हुने गरेको छ।
यसका अतिरिक्त महालेखाले प्राधिकरणको अनलाइन मिटिङ्ग र विदेश भ्रमण भत्ताको भुक्तानीको बारेमा समेत प्रश्न उठाएको देखिन्छ ।
प्रारम्भिक प्रतिवेदनमा मात्र उल्लेख भएको सो बिबरण महालेखापरीक्षकले अन्तिम प्रतिवेदनमा भने समावेश गरेको छैन् । त्यसैले सो रकम फर्स्यौट भईसकेको हो वा अझै असुल गर्न बाँकी छ भन्ने स्पष्ट हुन सकेको छैन्।

















‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व हाे – कांग्रेस सभापति थापा
होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया