बुधबार, फागुन ६, २०८२

देउवाको गृह जिल्लामा भिम साउँदलाई सभापति बनाउन पेलेर वडा अधिवेशन गरिँदै

मेरोन्यूज २०७८ भदौ २५ गते ११:१९

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन सुरु भएको छ । पर्शुराम नगरपालिकाका मेयर रहेका भीम साउँदलाई जिल्ला सभापति बनाउने उद्देश्यले ४६० जनाको क्रियाशील सदस्यताबाट नाम काटेर केन्द्रले ३१२ जनाको नाम थप गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

वडा, नगर, क्षेत्र र जिल्ला तहबाट सिफारिस गरिएका नामहरू हटाएर केन्द्रबाट नै साउँदलाई मतदान गर्ने व्यक्तिहरूको नाम थप गरेर पठाइएपछि विवाद बढेको हो । उक्त विवाद समाधान नभएसम्मका लागि कांग्रेस जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको थियो । काम नगर्ने सूचीमा रहेका विवादित ठेकेदार साउँदलाई जसरी पनि जिल्ला सभापति बनाउनका लागि पेलेरै वडा अधिवेशन सुरु गरिएको हो ।

जिल्ला कार्य समितिले वडा अधिवेशन नर्गन आग्रह गरे पनि उक्त आग्रहलाई लत्याउँदै ७ वटा स्थानीय तहका विभिन्न वडाहरूमा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ । बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौँ । सोही समयमा अधिवेशन सुरु भइसकेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटुंग्याई गरिएको अधिवेशनमा आफूहरुको सहभागिता नहुने गत मंगलबार नै पत्रकार सम्मेलन जानकारी दिएका थिए । सभापति देउवा पक्षधरले एकलौटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ । ‘देउवाले बल प्रयोग गरेर अधिवेशन गर्दै छन्, यो हामीलाई अमान्य छ,’ उनले भने ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र नेपाली कांग्रेस डडेल्धुरा जिल्ला कार्य समितिले सर्वसम्मत रुपमा क्रियाशील, नयाँ र नवीकरण गरी ५ हजार ८०४ जनाको सूची केन्द्रमा सिफारिस गरेको थियो । तर आइतबार सार्वजनिक भएको क्रियाशील सदस्यता सूचीमा जिल्लाले सिफारिस गरेका ४६० जनाको नाम हटाएर अन्य केन्द्रले ३१२ नयाँ सदस्य थपेको थियो ।

‘चार वटा तहबाट सिफारिस गरेर जिल्लाबाट इन्ट्री भएका क्रियाशील सदस्यता सूचीसहित निर्णय पनि केन्द्रमा पठाएका थियौं,’ पार्टी कार्यालयका सचिव रामबहादुर विष्टले भने, ‘तर केन्द्रले सार्वजनिक गरेको नामावलीमा ४६० जनाको नाम काटिएको छ ।’

नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ । यसअघि पनि कांग्रेसका दुई समूहबीच कुटाकुट भएको र विवादकाबीच अधिवेशन हुन थालेपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

यो पनि पढ्नुहोस् : सभापति देउवाकै गृह जिल्लामा के हो कांग्रेसभित्रकाे लफडा ?

प्रतिक्रिया