बुधबार, फागुन ६, २०८२

आजकाे संसदमा नरम देखिए सभामुख

प्रमुख प्रतिपक्षी दल पनि सहमतिमै अघि बढ्ने पक्षमा

मेरोन्यूज २०७८ भदौ २७ गते १५:५२

काठमाडौं । प्रतिनिधिसभाको नवौ अधिवेशनअन्तर्गत तेस्रो बैठक पनि स्थगित भएको छ ।

गत २३ गतेदेखि सुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर विरोधपछि आजको बैठक आगामी २९ गते बस्ने गरी स्थगित भएको हो ।

दिउँसो १ बजेदेखि बैठक सुरू भएको थियो । बैठक सुरू भएसँगै एमालेका सांसदहरूले नारा जुलुस लगाउँदै अवरोध गरेका थिए ।

पहिलो र दोस्रो दिनको बैठकमा एमाले सांसदहरु आक्रामक ढंगले विरोधमा उत्रिदा सभामुख अग्निप्रसाद सापकोटा पनि आक्रोशित देखिन्थे । उनले दुई दिनको बैठक एमालेको बिरोधकैबीच पनि मर्यादापालकलाई सशक्त परिचालन गरी अघि बढाए ।

तेस्रो दिनमा भने सभामुख सापकोटाले पनि सहमतिमै जोड दिएका थिए । सहमति जुटाएर अघि बढ्ने उद्देश्यले सभामुखले एमाले नेताहरुसँग छलफल चलाएका थिए ।

सभामुख सापकोटाले बारम्बार एमालेका सांसदहरूलाई बैठक सहज रूपमा सञ्चालन गर्न आग्रह गरे । तर, एमालेका सांसदहरूको विरोध गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

सभामुख सापकोटाले बैठक स्थगित गरी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमालेका सांसद खगराज अधिकारी, सरकारी वकिलसहित नेताहरूसँग संसद सञ्चालन गर्ने सन्दर्भमा छलफल गरेका थिए । तर, एमालेका नेताहरूले उच्च स्तरीय बैठकको माग गरेपछि सहमति जुट्न नसक्दै गर्दा पुनः दोस्रो बैठक सुरू भएको थियो ।

दोस्रो बैठकमा समेत एमालेका सांसदहरूले सभामुखको विरूद्धमा नाराबाजी गरे । तर अघिल्लो दुई दिनको बैठकमा जस्तो एमाले सांसदहरु उग्ररुपमा देखिएनन् । सौहार्दपूर्ण ढंगले नाराबाजी गरेको एमाले सांसदहरु पनि सहमतिकै पक्षमा रहेको संकेत तेस्रो दिनको बैठकले दिएको छ ।
त्यसैले सभामुख सापकोटाले आज जर्बजस्ती बैठक अगाडि बढाउन चाहेनन् । उनले दुई दिनको समयमा दलहरुबीच छलफल जुटाएर मात्रै संसद चलाउने उद्देश्यले भदौ २९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सहमतिकै पक्षमा सभामुख

एमालेले पछिल्लो समय बसेको प्रतिनिधिसभाको बैठकमा अवरोध गर्दै आएको हो । गत भदाै २३ गतेदेखि सुरू भएको प्रतिनिधिसभाको नवाै‌ अधिवेशनको बैठक एमालेले निरन्तर अवरोध गरेको हो ।

तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको टिमले एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका थिए । त्यसअघि एमालेले नेता नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको भन्दै सभामुखसमक्ष पत्र पठाएका थियो ।

यसबीच एमाले सांसदहरूले नेपालसहितका सांसदलाई कारबाही गर्न पटक-पटक सभामुखलाई भेटेरै आग्रह गरेका थिए । तर, सभामुखले नेपालसहितका सांसदलाई कारबाही गरेनन् ।

सभामुख सापकोटाले एमालेका १४ जना सांसदमाथि पार्टीले कारबाही गरेको संसदमा जानकारी गराउनु पर्ने व्यवस्था रहेको छ । यदि, संसद स्थगित भए नामावलीसहित संसद भवनमा पत्र टाँसी जानकारी गराउनु पर्दथ्यो । तर, उनले नेपालले नयाँ दलको मान्यता पाएपछि कारबाही गर्न नमिल्ने निर्णय सुनाएका थिए ।

यसबीच एमालेले आफ्नो पार्टी विभाजन हुनुको सबैभन्दा मुख्य दोषी सभामुखलाई ठानेको छ । जसले गर्दा एमाले विभाजन भएपछि सुरू भएको संसदमा सभामुखको विरूद्धमा नारा जुलुस लगाउँदै आएको हो ।

सरकारले राजनीति दल विभाजनसम्बन्धि अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले नेपालको पार्टीलाई ९ भदौमा नयाँ दलको मान्यता दिएको थियो । त्यसलगत्तै एमाले सभामुखप्रति रुष्ट भएको थियो । एमालेले संसदीय दलको बैठकबाट नै संसदमा आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो ।

एमालेले सभामुख सापकोटाले पदीय मर्यादा कायम राख्न नसकेको भन्दै सभामुखविरूद्ध नाराजुलुस गर्दै आए पनि अाज प्रतिपक्षी दल पनि पहिलेजस्ताे उग्र देखिएनन् । एमालेले सभामुख संसदको नभए सत्ता पक्षीय गठबन्धको भएको आरोप लगाएको छ । सदनमा एमालेले पदीय मर्यादा कायम गर्न माग गर्दै आएको छ ।

एमालेले संसदमा सभामुखलाई पदीय मर्यादा कायम गर भन्दै नारा लगाउँदै आएको छ भने सभामुखले संसद सुरु गर्नमा भूमिका खेल्न आग्रह गर्दै आएका छन् । सहमतिका लागि सभामुखले खेलेकाे भूमिकाले सहमतिबाटै अघि बढ्ने अवस्था देखिएकाे छ ।

प्रतिक्रिया