शनिबार, फागुन ९, २०८२

आईसीसी विश्वकप क्रिकेट लिग-2 आज नेपालले ओमानसँग खेल्दै

मेरोन्यूज २०७८ भदौ २९ गते ८:२६
फाइल फोटो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-2 अन्तर्गतको त्रिकोणात्मक शृंखलामा आज नेपालले घरेलु टोली ओमानसँग खेल्दैछ । खेल मंगलबार अल अमिरात मैदानमा दिउँसो सवा चार बजे सुरु हुनेछ । यसअघि गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शङ्खला खेल्न नेपाली टोली ओमान गएको हो । ज्ञानेन्द्र मल्लले कप्तानी गरेको टोलीमा गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर र विक्रम सोब रहेका छन् । टोलीमा मुख्य प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाइ गोहित रहेका छन् ।

ओमान शृङ्खला आगामी असोज ४ गतेसम्म सञ्चालन हुने छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्ने छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एक दिवसीय खेल खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो ।

विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन् । लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग गत वर्ष चार खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो । नेपालले दुई खेलमा अमेरिकालाई हराएको थियो भने बाँकी दुई खेलमा ओमानसित पराजित भएको थियो । पाँचौँ खेलमा नेपालले अमेरिकालाई हराउँदै छ अंक जोडेको छ । नेपाल आफ्नो समूहको अंक तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईमा हार व्यहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ । अमेरिका १३ खेलमा छ खेलमा जित र सातमा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ । स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अंकविहीन बन्दै लिग–२ को पुछारमा छ ।

लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।

प्रतिक्रिया