बालबालिकाले ४० मिनेटमात्रै टिकटक चलाउन पाउने

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकले ‘युथ मोड’ सार्वजनिक गर्दै बालबालिकालाई टिकटकमा नियन्त्रण गर्न सुरु गरेको छ । यो फिचरमार्फत टिकटकको अभिभावक कम्पनी बाइटड्यान्सले बालबालिकालाई दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा बिताउन नमिल्ने व्यवस्था गरेको हो ।
कम्पनीले टिकटकको चिनियाँ संस्करणबाट यसको सुरुवात गरेको छ । योसँगै चीनमा १४ वर्षभन्दा कम उमेरका टिकटक प्रयोगकर्ताले दिनमा ४० मिनेटभन्दा बढी टिकटकमा समय खर्च गर्न पाउने छैनन् । यस्ता प्रयोगकर्ताले रातको १० बजेदेखि बिहान ६ बजेसम्म टिकटक हेर्नसमेत नपाउने बनाइएको छ ।
साथै कम्पनीले अभिभावकलाई आफ्ना बालबालिकाको टिकटक अकाउन्ट बनाउँदा आधिकारिक विवरण प्रयोग गर्नसमेत आग्रह गरेको सी नेट टिचलाई उल्लेख गर्दै दी इकोनोमिक टाइम्सले जनाएको छ । यस्तो अवस्थामा कम्पनी आफैले प्रयोगकर्ताको उमेरका आधारमा उक्त फिचर ‘अन’ गरिदिने उल्लेख छ ।
यसका साथै कम्पनीले त्यस्ता बालबालिकालाई लक्षित गरेर विज्ञान, म्युजियमसँग सम्बन्धित कन्टेन्ट उपलब्ध गराउने भएको इकोनोमिक टाइम्सले जनाएको छ ।
पहिलो चरणमा चीनबाट सुरु भएको यो कार्य विस्तारै सबै मुलुकमा उपलब्ध गराउने कम्पनीको जनाएको छ ।
प्रतिक्रिया