तीनदिने भक्तपुरको मुपात्र जात्रा आजदेखि सुरु

भादगाउँ । इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ । विभिन्न धार्मिक ग्रन्थका आधारमा तयार पारिएको मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।
जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृंगारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन छ । नगर परिक्रमा गर्दा भक्तपरका टोल–टोलमा ठड्याइराखेको यमःद्योलाई मुपात्र राक्षसले तीनपटक घुमेर तरबारले हान्ने गर्दछन् ।
जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तैमाथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो । साथै आजै तचपालस्थित सँला गणेशलाई खटमा राखी भक्तपुर सहर परिक्रममा गराई सँला गणेश जात्रा गरिन्छ । त्यसपछि मुपात्र जात्रा निकालिन्छ । जात्रामा याँमता, गणेश र मुपात्रलाई यमःद्यो भएको ठाउँमा परिक्रमा गराइन्छ ।
जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ । यस दिन गोमारीको मानन्धर समुदाय छुमा गणेशकहाँ गएर सुकुना बालेर आइसकेपछि गोमारी मानन्धर चोकमा एउटा याँमता बालेर जात्रा सुरु गरिन्छ । याँमता बालिसकेपछि चोछें टोलको छुमा गणेशको मूर्तिलाई खटमा राखी दरबार स्क्वायरको तलेजु भवानीको दर्शन गराइन्छ । याँमता दरबार स्क्वायर पुगेपछि विभिन्न बाजागाजाका साथ याँमता, छुमा गणेश र मुपात्र जात्रा गरी नगर परिक्रमा गराइन्छ । राति सँला गणेश र छुमा गणेशलाई आ–आफ्नो द्योःछे (देवगृह)मा पु¥याइन्छ ।
जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ । पूजा सकिएपछि तल्लो टोल तपालछीं र तेखाचोका मानन्धर समुदायले भैरवनाथको मन्दिरमा गई सुकुना बालेर ल्याउँछन् । त्यही सुकुनामा बुलुचास्थित ढुङ्गेधारामा एकजोडा याँमता बालिन्छ । बालिसकेपछि याँमतासँगै त्यसको पछाडि तमारीको आकाश भैरवको अर्को स्वरुप मसान भैरवको खट जात्रा गारिन्छ । यस दिन जात्रामा नायखिङ (खड्गी समुदायको विषेश) बाजा बजाएर भैरवनाथको खटलाई नगर परिक्रमा गराइन्छ ।
भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ । तमारीको भैरव मन्दिर अगाडि तीनपटक घुमेर पुलुकिसी जात्रा सुरु गर्छन् । जात्रामा पुलुकिसीलाई चारजना मानिसले बोकेर ल्याइन्छ भने एक जनाले पुलुकिसीभित्र बसेर घण्टा बजाएर आउने परम्परा छ ।
जात्रामा पुलुकिसीले कथंकदाचित मुपात्रलाई भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने भएकाले यस दिन पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मुपात्र जात्रा निकालिन्छ । यस दिन भक्तपुरको भैरव मन्दिरबाट मुपात्र जात्रा निकालिन्छ ।
जात्रामा मुपात्र बन्ने व्यक्तिको आजन्म जात जाने र भातपानी नचल्ने सजाय भोग्नुपर्ने प्रचलन रहेको छ । सोअनुसार मुपात्र बन्ने व्यक्तिलाई अछुतको व्यवहार गरिन्छ । त्यसैले यो जात्रामा स्थानीय बासिन्दा नभई विकट ठाउँकालाई मुपात्र बनाउने गुठी संस्थानले जनाएको छ । रासस
















NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया