बुधबार, पुष १६, २०८२

नागरिकले अनुभूति गर्ने गरी सुरक्षा व्यवस्था गर्नुस् : गृहमन्त्री खाँण

मेरोन्यूज २०७८ असोज १२ गते १५:५५

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । चाडपर्वमा उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकलाई अनुभूति हुने गरी सुरक्षा व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनु पर्‍यो, नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाँणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनु पर्‍यो र चाडपर्वमा परिवर्तन देखिनु पर्‍यो ।’

मन्त्री खाँणले परिवर्तनको परिणम देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिए । ‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन्, योजना मात्रै राम्रा भएर भएन, ती योजना व्यवहारमा कार्यान्वयन गर्नु पर्‍यो,’ उनले भने, ‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्‍यो, मुस्कानसहितको सेवा व्यवहारमा देखिन पर्‍यो ।’

खासगरी सड्कको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षत्राधिकारभित्र पर्दैन भनेर चुप नबसी कसको क्षत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन निर्देशन दिए । ‘ट्राफिक व्यवस्थापन, सडकमा देखिने खाल्डाखुल्डी पुर्न र असहज अवस्थालाई सहजतामा बदल्न आवश्यक छ,’ उनले भने ।

बैठकमा उपत्यकाका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चालपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गरेका थिए । त्यस्तै महानगरीय टा«फिक महाशाखा प्रमुख एसएसपी जनकराज भट्टराईले ट्राफिक व्यवस्थापनबारे कार्य योजना प्रस्तुत गरेका थिए ।

मन्त्री खाँणले ती योजना सुनेपछि योजनालाई व्यवहारमा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । उनले सरकार नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन लागिरहेको भन्दै त्यस कार्यमा सहयोग गर्न कर्मचारी र प्रहरी अधिकारीलाई आग्रह गरे । उनले आफूले जिल्लामा जानेबेला गर्छु भनेका काम इमान्दारिताका साथ पूरा गर्न पनि निर्देशन दिए ।

गृहसचिव टेकनारायण पाण्डेले आम नागरिकलाई ममाथि राज्यको निगरानी छ भन्ने अनुभूति दिलाउन सकेमा मात्रै सफल हुन सक्ने भन्दै त्यस विषयमा ध्यान दिएर काम गर्न निर्देशन दिए । उनले चाडपर्वका बेलामा हुने बजार मूल्यमा बढोत्तरी, म्याद गुज्रेका खाद्य सामाग्री र कालो बजारीलाई रोक्न विषेश ध्यान दिन पनि उनले निर्देशन दिए ।

प्रतिक्रिया